गोरखा सदरमुकामबाट बुङ्कोट-नाम्जुङ जोड्ने सडक कालोपत्रे

गोरखा- गोरखा सदरमुकामबाट ढुङ्गागाढे, बुङ्कोट, नाम्जुङ  जोड्ने सडक कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन् ।

कच्ची सडकमा कष्टकर यात्रा गर्न बाध्य स्थानीय सडक कालोपत्रे भएपछि आउजाउमा सजिलो भएको भन्दै खुसी भएका हुन् ।
गण्डकी प्रदेश सरकारले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत १२ किलोमिटरको उक्त सडक कालोपत्रे गर्ने काम भएको हो ।

गोरखास्थित पूर्वाधार बिकास कार्यालय मार्फत लामा कन्ट्रक्सन कम्पनी काठमाण्डौँले सडक कालोपत्रे गरिरहेको छ । ३२ करोड ९६ लाख रुपैयाँ लागतमा उक्त सडक २०७६ कात्तिकदेखि निर्माण सुरु भएको हो ।

कोरोना प्रभाव र निषेधाज्ञाका कारण सडक निर्माणमा केही समस्या भएपनि निरन्तर काम चलिरहेको र असार मसान्त सम्म पुरै सडक कालोपत्रे भईसक्ने पूर्वाधार बिकास कार्यालयका इन्जिनियर गणेश सुबेदीले बताए ।

सडक चौडा पार्ने, पक्की नाली निर्माण, टेवा पर्खाल लगाउने, ग्राबेल गर्ने काम १२ किलोमिटर पुरा भएको छ । ९ सय मिटर सडक ढलान भइसकेको छ । कालोपत्रे धमाधम भईरहेको छ । कोरोना प्रभावका बिच पनि स्थानीय मानिसलाई काम लगाएर समयमै सक्ने गरी सडक कालोपत्रे गरिरहेको निर्माण जिम्मा लिएका ब्यवशायी जनक भट्ट बताउँछन् ।

२०७८ कात्तिक महिनामा कालोपत्रे सम्पन्न गर्नुपर्ने समय रहेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । कोरोना प्रभाव र असरका बिच सडक निर्माण सन्तोषजनक र छिटो काम भएको शहीदलखन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।

उक्त सडक कालोपत्रे भएपछि आउजाउ गर्न सजिलो भएको, बर्खाको बेला नियमित गाडी चल्ने भएपछि बिरामी पर्दा, सुत्केरी हुँदा अस्पताल जान आउन सजिलो हुने भन्दै स्थानीय खुसी भएका छन् । सदरमुकाम नजिकिएको भन्दै उनीहरु उत्साहित छन् ।

उक्त सडक गोरखा सदरमुकाम भएर प्रसिद्ध धार्मीक स्थल मनकामना जोड्ने सडक हो । सडक सात मिटर चौडा बनाइएको छ । उक्त सडकबाट गोरखाको शहदीलखन, गण्डकी, भिमसेन थापा, गोरखा नगरपालिकाका स्थानीय प्रत्यक्ष लाभान्बित हुनेछन् ।

नाम्जुङदेखि घैरुङ हुँदै मनकामना सम्म बाँकी सडकको पनि कालोपत्रे गर्ने गरी डिपीआर तयार भईसकेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.