गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

नवनियुक्त मुख्यमन्त्री पोखरेललाई निवर्तमान मुख्यमन्त्रीको बधाई

पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख पौडेलले आज दिउँसो ३.०० बजेसम्मको समय तोकेर प्रदेश सभा सदस्यहरूलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो । पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङेको समर्थनमा दावी पेश गरिएको थियो । पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

पुर्ख्यौली थलो तनहुँ भएका ७१ वर्षीय पोखरेल प्रदेशसभा सदस्यमा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र १ प्रदेश (क) बाट विजयी बन्नुभएको थियो ।

नवनियुक्त मुख्यमन्त्री पोखरेललाई निवर्तमान मुख्यमन्त्रीको बधाई

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुखसीता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै गुरुङले टेलिफोन गरी पोखरेललाई बधाई ज्ञापन गर्नुभएको उहाँका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

आजै मुख्यमन्त्रीसहित माओवादी केन्द्रबाट मधुमाया अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.