उपत्यकामा निजी सवारी सञ्चालन अनुमति, जोरबिजोर प्रणाली लागू, बार अनुसार पसलहरु खोल्न पाइने

काठमाडौं– निषेधाज्ञा केही खुकुलो बनाउँदै काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा एक साता थप गरिएको छ ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरु र सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले असार ८ गतेदेखि १४ गते सम्म एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गर्दै निषेधाज्ञा केही खुकुलो बनाएको हो । नयाँ व्यवस्था अनुसार ८ गतेबाट निजी सवारीलाई जोर-बिजोरअनुसार रुपमा चलाउन पाइने भएको छ भने सार्वजनिक यातायतको बन्द यथावत नै राखिएको छ ।

निश्चित पसलहरु दिन र समय तोकेर खुला गरिने भएको छ । जस अनुसार आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न पाइने छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न पाइने भएको छ ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू यस अघिकै व्यवस्था यथावत राखिएको छ । ती पसलहरु बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी सवारी साधनको मर्मत वर्कसप बेलुका ७ बजेसम्म गर्न पाउनेछन्। बेलुका ४ बजेपछि खोल्न पाइने व्यवस्था भएका निर्माण सामग्रीका पसलहरू अब बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ ।

विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सवै सरकारी कार्यालय स्वास्थ्य मापदण्डको पालना हुने व्यवस्था मिलाई आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्तिमात्र प्रयोग गरी सेवा प्रवाह सुचारु गरिने भएको छ ।

कोभिडको दोस्रो लहरको संक्रमण बढेसँगै वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्लामा निषेधाज्ञा लगाउँदै आइएको छ । गृहमन्त्रालयका अनुसार हाल २ जिल्लामा आंशिक र ७३ जिल्लामा पूर्णगरी देशभर ७५ जिल्लामा निषेधाज्ञा जारी राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.