निर्वाचन नै लोकतन्त्रको प्राण : उपप्रधानमन्त्री पौडेल

बुटवल- उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन नै लोकतन्त्रको प्राण भएको बताउनुभएको छ । उहाँले संविधानको कार्यान्वयनका लागि पनि अब निर्वाचनको विकल्प नभएको बताउनुभएको हो ।

उहाँले आज बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटनका क्रममा केही दलहरु निर्वाचनसँग डराएका बताउनुभयो । उहाँले निर्वाचन बाध्यकारी रुपमा आएकाले सबैलाई निर्वाचनका लागि तयार रहन आग्रहसमेत गर्नुभयो ।

उहाँले सरकारले पूर्वाधार निर्माणका क्षेत्रमा, मानवीय संसाधनको विकासका दृष्टिले, जनताको जीवनस्तरमा आएको विकास र प्रगतिका क्षेत्रमा हरेक दृष्टिकोणले नेपालले विकासका नयाँ नयाँ मानक प्रस्तुत गर्दै अघि बढिरहेको बताउनुभयो ।

अर्थमन्त्रीसमेत रहनुभएका उहाँले सरकारको विकास र समृद्धिको अभियानमा सम्पूर्ण राजनीतिक दल, आम जनताको समेत साथ र सहयोग हुनुपर्नेमा सत्तापक्षीय दलकै बीचमा पनि कतिपय समस्या देखिएकाले यो प्रतिनिधिसभाले राजनीतिक स्थायित्वलाई सुनिश्चितता दिने तथा विकासको अभियानलाई तीव्रता दिन नसक्ने अवस्थामा ताजा जनादेशमा जानुपर्ने परिस्थिति सिर्जना भएको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाका मुलुककै समृद्धिका लागि निकै महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना हुने बताउनुभयो । उहाँले परियोजनाले रूपन्देही र कपिलवस्तुका जमीनमा सिँचाइ सुविधा पु¥याउने, विद्युत् उत्पादन गर्ने तथा पर्यटकीय पूर्वाधारको समेत विकास गरिने योजना रहेको जानकारी दिनुभयो ।

सो परियोजना सम्पन्न गर्न रु १३८ अर्ब लागत अनुमान गरिएको छ । यसअन्तर्गत विद्युत् उत्पादन करीब रु ६४ अर्ब र सिँचाइ संरचना तथा सिञ्चित क्षेत्र विकासका लागि करीब रु ७४ अर्ब अनुमान गरिएको छ । उक्त रकमको स्रोत सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.