सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा

काठमाडौं– नेपाल सरकारले वीर सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषदका निर्णय गर्नै नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङले भक्ति थापालाई राष्ट्रिय विभूतिको सूचीमा सामवेश गरेको जानकारी दिनुभएको हो ।

मन्त्री नेम्वाङले नेपाल राज्यको रक्षाका लागि अंग्रेजसँग लड्दा वीरगति प्राप्त गरी अमरत्व प्राप्त गरेका भक्ति थापालाई राष्ट्रिय विभूतिको सूचीमा समावेश गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्री नेम्वाङले मन्त्रिपरिषद बैठकले बिभिन्न निकायमा पदाधिकारी एवं सदस्य नियुक्ति गरेको जानकारी दिनु भयो । सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष पदमा भीमकुमार ओझा (पाँचथर)लाई नियुक्ति गर्ने निर्णय गरेको छ। त्यसैगरी सरकारले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिको अध्यक्षमा डा. अर्जुन कार्की, सदस्यमा डा. अमिना सिंह, डा. असीम ढकाल, प्रा.डा. विपिनचन्द्र अधिकारी, वीरेश शाह, डा. दोभान राई, डा. संगीता कौशल मिश्र, डा.सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ र श्रवणकुमार राणालाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री नेम्वाङले जानकारी दिनु भयो ।

सरकारले ‘खबर गरौं ११४५’ हेल्पलाइन सेवा सञ्चालन गर्न राजपत्राङ्कित तृतीय श्रेणीका विभिन्न ४ अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

बीउ बिजन उत्पादन, आपूर्ति तथा व्यवस्थापन निर्देशिका, २०७८, सडक बोर्डको कार्यकारी निर्देशकको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७८ र सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

एसियाली विकास बैङ्कको कार्यकारी निर्देशकको कार्यालय, मनिलामा नेपालले प्रतिनिधित्व गर्ने निर्देशकको सल्लाहकारमा अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई मनोनयन गरी निजलाई उक्त अवधिमा बैङ्कको केन्द्रीय कार्यालय मनिलामा काजमा पठाउने निर्णय गरेको छ।

अर्थ मन्त्रालय विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने १५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको मन्त्री नेम्वाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.