विद्युतमा फड्को, ४५६ मेगावाट क्षमताको तामाकोशीबाट बिजुली बल्दै, प्रधानमन्त्रीले उदघाटन गर्नुहुने

सञ्चालनमा आयो समुन्द्रटार–त्रिशूली ३ बी केन्द्र प्रसारण लाइन

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उहाँका अनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको मागअनुसार विजुली उत्पादन हुने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

आयोजनाले आज मात्रै विद्युत्गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

यस्तै जिआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आजसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अब सोमबारदेखि ती उपकरणलाई लोडमा चलाइने छ ।

आयोजनाबाट उत्पादित बिजुली विद्युत्गृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । प्रवक्ता न्यौपानेका अनुसार ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । उद्घाटनको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता न्यौपानेले नेपाली जनताले विगत १० वर्षदेखि देखेको सपना पूरा भएको प्रतिक्रिया दिनुभयो । स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना सम्पन्न भएको हो ।

यस्तै यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ । प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गरिएको थियो । त्यसमा विशेषगरी प्रसारण लाइन व्यवस्थापनको काम गरिएको डा न्यौपानेले जानकारी दिनुभयो ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागले यही असार १२ गते एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी दिएको थियो ।

सो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबारदेखि कोहरपुरसम्मका सवस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती भएको थियो । त्यस समयमा प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथाशक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरेको थियो । यसअघि आयोजनाको सुरुङमा पानी हालेर हाल पनि परीक्षणलगायतका काम नियमित गरिएको थियो ।

आयोजनामा कूल छ युनिट रहेका छन् । स्वदेशी लगानीको ठूलो आयोजना निर्माण सम्पन्न हुन लामो समय लाग्दा अनेकन आशङ्का पैदा भएका थिए । सरकारले सबै खालका साधन र स्रोत उपलब्ध गराएको भए पनि प्राकृतिक विपत्ति, कोरोनालगायत कारण पछाडि धकेलिँदै आएको थियो ।

आयोजना अन्तिम चरणमा पुगेपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वाससमेत पैदा गरेको छ । शुरुआती लागत रु ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै रु ८० अर्बको हाराहारी पुगेको छ ।

पछिल्लोपटक प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनास्थल पुगेर आवश्यक निर्देशन तथा बिजुली उत्पादनको तयारीका बारेमा जानकारी लिनुभएको थियो । पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर समस्या समाधानमा सहजीकरण गर्नुभएको थियो ।

सबैको साथ र सहयोगका कारण माथिल्लो तामाकोशी निर्माणको अन्तिम चरणमा पुगेको भन्दै आयोजनाले प्रसन्नता व्यक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सो आयोजनाको शिलान्यास गर्नुभएको थियो ।

सञ्चालनमा आयो समुन्द्रटार–त्रिशूली ३ बी केन्द्र प्रसारण लाइन
मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको सरकारले अर्को महत्वपूर्ण परियोजना निर्माण सम्पन्न गरेको छ । जलविद्युत् आयोजना धमाधम निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभाव खेपिरहेका सन्दर्भमा समुन्द्रटार–त्रिशुली ३ बी केन्द्र १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मात्रै सो आयोजनाको उद्घाटन गर्नुभएको थियो ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारबाट शुरु भई किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिशूली ३ केन्द्र सबस्टेसनसम्मको २६ किलोमिटर प्रसारण लाइनले २७० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्नेछ । यस लाइनमा जोडिने गरी तादी खोला र यसका सहायक खोलामा निजी क्षेत्रका ऊर्जा उद्यमीले निर्माण गरेका ६० मेगावाट क्षमताका १० जलविद्युत् आयोजनाले बिजुली जोडन सक्ने भएका छन् । ती सबै आयोजना केही सम्पन्न हुने चरणमा पुगेका छन् भने केही निर्माणका क्रममा छन् ।

कूल २६ किलोमिटर प्रसारण लाइनमध्ये तीन किलोमिटर खण्ड मल्टिसर्किटयुक्त छ । त्यसमा दुई सर्किट लाइन जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको संयुक्त प्रवद्र्धनमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने छ । समुन्द्रटार सबस्टेसनमा १३२÷३३ केभीतर्फ दुई थान ३० एमभीए क्षमताका ट्रान्सफर्मर र ३३÷११ केभीतर्फ दुई थान आठ एमभिए क्षमताका ट्रान्सफर्मर जडान गरिएको छ । त्यस्तै १३२ केभीतर्फ पाँच वटा ‘बे’ र ३३ केभीतर्फ चार वटा ‘बे’ उपकरण जडान गरी सञ्चालनमा ल्याइएको छ । सबै उपकरणलाई अत्याधुनिक सबस्टेसन अटोमेसन प्रणालीबाट नियन्त्रण गरिने छ ।

सबस्टेसनबाट स्थानीयरुपमा पनि विद्युत् आपूर्ति गरिने भएकाले नुवाकोटको पूर्वी भेगमा विद्युत् भोल्टेजको सुधार र कटौतीमा रहेको समस्या समाधान हुने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो । नेपाल सरकारको लगानी र एशियाली विकास बैंक (एडिबी) तथा युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माण सम्पन्न भएको हो । प्रसारण लाइन र सबस्टेसनको कूल लागत रु एक अर्ब ५५ करोड रहेको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत प्रसारण लाइन निर्माणका लागि इटिइआरएन सिसिसिइ एफइपिइसी जेभी, चीनसँग २०७३ मङ्सिर १३ मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसन ३३ रोपनी जग्गामा फैलिएको छ । प्रसारण लाइनको टावरका लागि २१ रोपनी र तारमुनि ९४८ रोपनी जग्गा उपयोग गरिएको छ ।

सो आयोजनाको उद्घाटन गर्दै प्र्रधानमन्त्रीले ओलीले आफ्नै उत्पादनबाट घरेलु विद्युत्को माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताउनुभएको थियो । सरकारले उत्पादन वृद्धिमार्फत आयात प्रतिस्थापन, उत्पादित विद्युत्को प्रसारण र त्यसको खपतलाई सन्तुलित ढङ्गले अघि बढाएको प्रधानमन्त्रीको भनाइ थियो । “पहिले तालमेल नमिलेर आयोजना तयार भइसक्दा प्रसारण लाइन नहुने लाइन तयार हुँदा वितरण गर्ने ठाउँमा सहायक लाइनहरु नहुने जस्ता कमजोरी थिए । अब हामीले त्यस्तो नहोस् भन्नेमा ध्यान दिएका छौँ”, प्रधानमन्त्रीको भन्नुभएको थियो ।  -रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.