सुरुङमार्ग बनाउँदा बस्ती नै जोखिममा

धादिङ- नौविसे-नागढुङ्गा सुरुङ्ग मार्ग निर्माणका क्रममा काटिएको पहडका कारण बस्ती नै बग्न थालेपछि धुनिवेसी नगरपालिकाको खत्री पौवा गाउँ पहिरोको उच्च जोखिममा परेको छ ।

गाउँका धेरै घर परिवार विस्थापित भइसकेका छन भने अन्य केहीलाई सुरक्षित स्थानमा स्थान्तरणको काम तत्काल गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

आयोजनाका कारण बस्ती जोखिममा परेको भन्दै तत्काल आयोजनाले उचित क्षतिपूर्तिसहित बस्ती स्थान्तरणमा सहयोग नगरे काम नै ठप्प बनाउने चेतावनी स्थानीय तहले दिएको छ ।

त्रिभुवन राजपथको खत्री पौवामा सडक फराकिलो बनाई निर्माण कार्य गरिरहँदा केही दिनदेखि परेको अविरल वर्षाका कारण जमिन पुरै भासिँदै गई गाँउ नै बग्न सुरु गरेको हो ।

पहिरोले गर्दा उक्त स्थानमा त्रिभुवन राजपथ पनि उच्च जोखिममा रहेको छ । पहिरोग्रस्त क्षेत्रमा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको एक टोलीले अनुगमनसमेत गरेको छ ।

सो स्थानमा बस्न मानिसहरुलाई निकै जोखिम भएकोले तत्कालका लागि अन्यत्र स्थानानन्तरण गर्ने प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले जानकारी दिनुभएको छ ।

यसो त धुनिवेसी नगरपालिकाले भने आफ्नो स्थानीय तह भित्र आयोजनाले लापरवाही गरी जथाभावी खनेकोले यस्तो अवस्था आएको भन्दै पहिरो पिडित स्थानीयहरुलाई सुरक्षित स्थानमा सार्नुका साथै उचित क्षतिपूर्तिको ब्यवस्थाको माग गरेको छ ।

अन्यथा राष्ट्रिय महत्वकै आयोजना भए पनि सो क्षेत्रमा काम गर्न नदिने चेतावनी धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले दिनु भएको छ ।

विकास भन्दा पनि पहिला जनताको जीउधनको शुरक्षा महत्वपूर्ण रहेको भन्दै उहाँले आयोजनाले क्षतिपूर्तिसहित सुरक्षित स्थानमा बसोवास सार्न माग गर्नु भएको छ ।

आयोजनाको काममा स्थानीय तहले पनि सहयोग गर्ने बताउँदै उहाँले निर्माणका क्रममा कन्सल्ट्याण्टको लापरवाहीले गर्दा यस्तो अवस्था आएको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.