‘हामी राजनीतिक दलहरू एक अर्काका शत्रु होइनौँ बरु हाम्रा साझा उद्देश्य प्राप्तिका लागि सहयात्री हौँ’- प्रम देउवा

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा २०७८ साउन ३ गते प्रतिनिधि सभामा गर्नुभएको सम्बोधनको सम्पादित अंश :

सभामुख महोदय,

प्रतिनिधि सभा विघटनपश्चात् सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनर्स्थापित भएको छ । आज सभाको आठौँ अधिवेशन प्रारम्भ भइरहेको छ । म सबैभन्दा पहिले सबै माननीय सदस्यलाई हार्दिक बधाई दिन चाहन्छु । नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानले देशमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । इतिहासको लामो कालखण्डमा लोकतन्त्रका लागि भएका राजनीतिक सङ्घर्षमा बलिदान गर्ने सम्पूर्ण शहीदहरूलाई सम्मानपूर्वक स्मरण गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु । लोकतन्त्रको स्थापना र संरक्षणका लागि योगदान गर्नुभएका सबै नेपाली नागरिकप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

पटक–पटकको प्रतिनिधि सभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्योल र अनिश्चितताको स्थिति रह्यो । नेपालको संविधानको धारा ७६ (३) बमोजिम नियुक्त हुनुभएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (४) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत नलिई धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई अनुरोध गर्नु भएपछि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारम्भ भयो । केही समयको राजनीतिक र संवैधानिक अभ्यासपश्चात् म नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त भएको छु । मेरो नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको छ । मलाई प्रधानमन्त्रीमा नियुक्त हुन सहयोग र समर्थन गर्नुहुने राजनीतिक दलका नेताहरू, माननीय सदस्यलगायत सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । यो सरकारलाई भविष्यमा पनि निरन्तर सहयोग र समर्थन रहने विश्वास पनि लिएको छु ।

अहिले मुलुक निकै जटिल अवस्थामा छ । विश्वव्यापी रूपले फैलिएको कोभिड–१९ को प्रकोपले हामी निकै प्रभावित भएका छौँ । दैनिक रूपले सङ्क्रमण बढिरहेको छ । मानिसहरूको मृत्यु भइरहेको छ । म कोभिड–१९ का कारण मृत्यु भएका सबैको आत्माको चिर शान्तिको कामना गर्दछु । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । अस्पतालमा उपचार गराइरहनुभएका सबैको शीघ्र स्वास्थलाभको कामना गर्दछु । कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि अहोरात्र खटेर काम गर्नु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाली नागरिकलाई कोभिड–१९ को प्रकोपबाट जोगाउने यो सरकारको पहिलो प्राथमिकता हुनेछ । सरकारले कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि सबै उपाय अवलम्बन गर्नेछ भन्ने म प्रतिबद्धता व्यक्त गर्दछु ।

हामी यहाँ उपस्थित सबै राजनीतिक दलको प्रयत्नबाट नेपालको संविधान निर्माण भएको हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यसको संरक्षण र सुदृढीकरण पनि हामी सबैको प्रयासबाट मात्र सम्भव छ । बहुदलीय व्यवस्थामा फरक–फरक राजनीतिक विचार हुने तिनका बीचमा प्रतिस्पर्धा हुने, स्वस्थ आलोचना प्रत्यालोचना हुने विषयहरू स्वाभाविक र राम्रा हुन् । ती आवश्यक पनि छन् । तथापि हाम्रा केही साझा चुनौती, उद्देश्य र गन्तव्य छन् । जसका लागि हामीले सहकार्य र सहयात्रा गर्नुपर्छ । कोभिड–१९ हाम्रो तत्कालको चुनौती हो ।

गरिबी, बेरोजगारी, अशिक्षाजस्ता तमाम साझा समस्या छन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान हाम्रा साझा विषय हुन् । नेपालको संविधानको संरक्षण र यसको असल कार्यान्वयन हाम्रो साझा गन्तव्य हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु हामी सबैको साझा उद्देश्य हो । यसका लागि हाम्रा बीचमा सहकार्य र सहयात्राको आवश्यकता छ ।

हामी सबैसँग आ–आफ्ना अनुभवहरू छन् । केपी शर्मा ओलीले विगत साढे तीन वर्ष सरकारको नेतृत्व गर्नुभएको छ । उहाँले गर्नुभएका असल कामका लागि म धन्यवाद दिन चाहन्छु । उहाँको अनुभव हाम्रा लागि उपयोगी हुनेछ । विगतमा भएका राम्रा कामहरूलाई निरन्तरता दिँदै कमी कमजोरी सुधार गर्दै लानु पर्नेछ । महìवपूर्ण नयाँ कामहरू पनि गर्नुछ ।

देशमा सुशासन कायम गर्नु छ । यसका लागि सरकार, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलहरूबीच निरन्तर संवाद, सहकार्य र सामूहिक प्रयत्न आवश्यक छ भन्ने मेरो मान्यता छ र यसका लागि म सदैव प्रयत्नशील रहनेछु । हामी राजनीतिक दलहरू एक अर्काका शत्रु होइनौँ बरु हाम्रा साझा उद्देश्य प्राप्तिका लागि सहयात्री हौँ भन्ने भावनाका साथ काम गर्नु पर्दछ ।

संसदीय लोकतन्त्रको स्थापनाका लागि देशमा लामो त्याग तपस्या र बलिदानपूर्ण सङ्घर्ष भएको हो । संसद्लाई अधिकार सम्पन्न, जीवन्त र क्रियाशील बनाउनु पर्दछ । सरकार संसद्प्रति उत्तरदायी रहनु पर्दछ भने संसद्ले सरकारका सबै गतिविधिप्रति ध्यान दिई अनुगमन गर्नु पर्दछ । यसले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ । निरन्तरको राजनीतिक अन्योल, अनिश्चितता र अस्थिरताले लोकतन्त्रलाई नै कमजोर गर्छ । तसर्थ अब हामी राजनीतिक स्थिरताको बाटोमा हिँड्न जरुरी छ ।

म नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभामा प्रस्तुत भएको छु । सबै माननीय सदस्यले मलाई विश्वासको मत दिनु हुनेछ भन्ने विश्वास गरेको छु । (गोरखापत्रअनलाइनबाट साभार)

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.