सार्वजनिक यातायात खुले, खुलेनन् सडक

म्याग्दी- कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध हुँदा सञ्चालन हुनसकेका छैनन् ।

पहिराले बेनी-जोमसोम सडकसहित म्याग्दीका भित्री सडक अवरुद्ध भएका छन् । असारको शुरुआतसँगै परेको अविरल वर्षाका कारण झरेको पहिराले बेनी-जोमसोम, बेनी-दरबाङ र जिल्लाका भित्री सडक अवरुद्ध भएका हुन् ।

साउन १ गतेदेखि नै जिल्लाभित्र चल्ने सार्वजनिक यातायात खुला गरिए पनि जिल्लाका कुनै पनि ग्रामीण सडकमा बस चल्न सक्ने अवस्था नरहेको यातायात व्यवसायीले बताएका छन् ।

म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष सुमन श्रेष्ठले आन्तरिक सार्वजनिक यातायातका साधन खुला गरिए पनि बाढी र पहिराका कारण अवरुद्ध बनेका सडक सञ्चालन गर्न नसक्दा यातायातका साधन सञ्चालन हुन नसकेका बताउनुभयो ।

बेनी-जोमसोम र बेनी-दरबाङ सडक अवरुद्ध हुँदा ठूलो समस्या उत्पन्न भएको छ । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने बेनी-जोमसोम सडकमा माथिबाट पहिरो र तलबाट नदी कटानले गर्दा विभिन्न नौ ठाउँमा अवरुद्ध हुने गरेको छ भने पश्चिम म्याग्दी र बागलुङका १४ वटा गाउँलाई जोड्ने बेनी-दरबाङ सडकको समस्या पनि बेनी-जोमसोम सडकको जस्तै रहेको यातायात व्यवसायीले बताएका छन् । यहाँ सडक माथिबाट ढुङ्गासहितको पहिरो आउने र म्याग्दी नदीको कटानका कारण सडक भासिने गरेको छ ।

बेनी–बरङ्जा, बेनी–पुलाचौर र बेनी–झीँ यी तीन सडकबाहेक जिल्लाका अन्य १७ वटा ग्रामीण सडक अवरुद्ध छन् । छ किलोमिटर दूरीको बेनी–पुलाचौर, आठ किमी दूरीको बेनी–बरङ्जा र सात किमी दूरीको बेनी–झीँ सडकमा पनि साना यातायातका साधन मात्र सञ्चालन भएका छन् ।

म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष श्रेष्ठका अनुसार यी तीनवटा सडकमा पनि जीपबाहेक ठूला सवारी सञ्चालन हुनसकेका छैनन् । पहिराका कारण सडक साँघुरिएकाले ठूला सवारी सञ्चालन हुन नसकेका उहाँको भनाइ छ ।

यहाँका सडक अवरुद्ध भएपछि टाढा–टाढा पुग्ने यात्रु बीच बाटोमा अलपत्र परेका छन् । पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । वर्षा निरन्तर भइरहेका कारण राजमार्गका सडक सञ्चालन हुन केही समय लाग्ने बताइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.