नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ ।

यसै सन्दर्भमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुभएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

नेता नेपाललाई भेट्न माओवादी अध्यक्ष दाहाल र जसपा अध्यक्ष यादव कोटेश्वरस्थित उहाँकै निवासमा पुग्नुभएको थियो । नेता नेपाल निवासमा आज बिहान भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिमण्डल विस्तारलगायत विषयमा विचार विमर्श भएको बुझिएको छ ।

यद्यपि भेटका सम्बन्धमा दुबैतर्फका नेताले सञ्चार माध्यमलाई औपचारिक प्रतिक्रिया दिएका छैनन् । यता जसपाका कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले अध्यक्ष यादवले नेता नेपालसँग समसामयिक विषयमा कुराकानी गर्नुभएको र विस्तृत विवरण दिउँसो जानकारी गराउने बताउनुभयो ।

उहाँका अनुसार जसपाको संसदीय दलको बैठक मध्यान्ह सिंहदरबारमा बस्दैछ । उक्त बैठक बस्नुअघि अध्यक्ष यादवले दलीय परामर्श गर्नुभएको हो । सत्ता साझेदारको प्रमुख घटक माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेता नेपालबीच पनि करीब एक घण्टा कुराकानी भएको थियो ।

त्यसलगत्तै अध्यक्ष यादवले पनि छुट्टै नेता नेपालसँग छलफल गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.