तामाकोशी पाँचौँमा कर्मचारी सञ्चयकोषले १२ अर्ब लगानी गर्ने

काठमाडौँ- नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।

रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा एकलौटी लगानी गरेको कोषले तामाकोशी पाँचौँमा एक्लै लगानी गर्न लागेको हो । लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

माथिल्लो तामाकोशीको क्यासकेड परियोजनाका रुपमा तामाकोशी पाँचौं अगाडि बढाउन लागिएको हो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ ।

माथिल्लो तामाकोशीको दुईवटा युनिट परीक्षण भइरहेको छ । गत असारको अन्तिम साता उद्घाटन भएको भए पनि उपकरणमा समस्या आएपछि केही दिन आयोजना बन्द भएको थियो ।

झण्डै १०० मेगावाट क्षमताको तामाकोशी पाँचौँको कूल लगानी रु १६ अर्ब रहने अनुमान गरिएको छ । कूल लगानीमध्ये रु १२ अर्ब कोषले उपलब्ध गराउँदा थप रु चार अर्ब भने प्राधिकरणले लगानी गर्ने भएको छ ।

तामाकोशी पाँचौँमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ । आयोजनाको कूल लागतका आधारमा प्रतिमेगावाट लागत रु १६ करोड मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ । आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने छैन । माथिल्लो तामाकोशीको सबै संरचनासमेत प्रयोग गर्न सकिन्छ । त्यसकारण पनि व्यवस्थापन थप सरल देखिन्छ ।

आयोजनाले वार्षिक रुपमा ५४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । आवश्यक सबै काम सकेर आगामी १० महिना भित्रमा बोलपत्रको काम थाल्ने र निर्माण शुरु गरिहाल्ने योजनामा प्रवद्र्धक कम्पनी लागिपरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.