व्यवहारिक र वैज्ञानिक विधि अपनाएर महाधिवेशन समय मै सम्पन्न गर्न नेतृत्वलाई सुझाव दिएका छौँ : नेता बानियाँ

काठमाडौँ- नेपाली काँग्रेसको आसन्न महाधिवेशनका बारेमा विभिन्न चर्चा परिचर्चा चलिरहँदा काँग्रेसका जिल्ला सभापतिहरु सामुहिक रुपमा केन्द्रीय नेतृत्वलाई सुझाव र सल्लाह दिन व्यस्त छन । यसै सन्दर्भमा विहिबार नेपाली काँग्रेसका ३५ जिल्लाका सभापतिहरुले पार्टीको आसन्न महाधिवेशनका बारेमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवालाई ध्यानाकर्षणसहितको सुझाव पेश गरेका छन । जिल्ला सभापतिहरुको बैठकको निर्णय, नेपाली काँग्रेसको आगामी महाधिवेशन र सरकारका प्राथमिकताका बारेमा नेपाली काँग्रेस मकवानपुर जिल्लाका सभापति तथा बागमती प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँसँग नेपालटीभीअनलाइनका लागि गोविन्द धितालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश यहाँ प्रस्तुत गरिएको छ :-

प्रश्न : नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको ललितपुरमा सम्पन्न बैठकले के-के निर्णय गर्‍यो ? 

बानियाँ : पहिलो त भर्खर मात्र नेकपाको बहुमतप्राप्त सरकार उसको आफ्नै हुंकार र अबिवेकपूर्ण काम कारवाहीले गर्दा ढलेको छ । नेपाली काँग्रेसको सुझबुझपूर्ण व्यवहार र नेपालको संविधानलाई ठिक ट्रयाकमा हिँडाउन नेपाली काँग्रेसको बर्तमान नेतृत्वले गरेको पहलका लागि नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवालाई हार्दिक बधाइ दिने निर्णय गरेको छ । साथै नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहयोग गर्नै सबै दलका नेताहरुलाई धन्यवाद दिने निर्णय गरेको छ ।

प्रश्न : प्रधानमन्त्रीलाई धन्यवाद दिने मात्र यो बैठकको उदेश्य त होइन होला नि ? 

बानियाँ : त्यतिमात्र होइन । हामीले ८ बूँदै ध्यानाकर्षण पत्र तयार पारेर नेतृत्वलाई बुझाएका छौँ । यसमा मुख्य विषय नेपाली काँग्रेसको नेतृत्वमा बनेको सरकार र यसले आगामी दिनमा चाल्नुपर्नेक कदमलाई प्राथमिकता दिइएको छ । यसका साथै, गत निर्वाचनमा जम्मा ६३ सिटमा समेटिएको काँग्रेसले १ सय ६५ सांसदको समर्थन लिएर सरकार गठन गर्न सक्नु नेपाली काँग्रेसको वर्तमान नेतृत्वको सक्षमता हो भन्ने ठहर सभापतिहरुको हाम्रो भेलाले गरेको छ । त्यतिमात्र होइन, अब ५० बर्ष यो देशमा नेपाली काँग्रेसको सरकार बन्दैन भन्दै चुनौति दिँदै हिड्ने कम्युनिष्टका नेताहरु खासगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको बल र बैधानिक बाटो हिँडाउन सिकाउने माउ पार्टीको रुपमा नेपाली काँग्रेस खडा भएको छ । यसले आम कार्यकर्ताहरुलाई खुशी बनाएको निष्कर्ष पनि हाम्रो बैठकले निकालेको छ ।

प्रश्न : अनि काँग्रेस महाधिवेशनका बारेमा चाहिँ के सल्लाह दिने निर्णय गर्नुभयो त ?

बानियाँ : अहिले आम चासोको विषय हो नेपाली काँग्रेसको महाधिवेशनको प्रशंग । यसमा नेपाली काँग्रेसको विधान,नेपालको संविधान र अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको फैलावटको अवस्था हेरेर कसरी गर्दा व्यवहारिक र वैज्ञानिक ढंगले महाधिवेशन गर्न सकिन्छ त्यसरी नै समयमै महाधिवेशन गर्नपर्ने सुझाव हामीले काँग्रेसको केन्द्रीय नेतृत्वलाई सुझाव दिएका छौँ ।

प्रश्न : तपाईं त बागमती प्रदेश नेपाली काँग्रेसको संसदीय दलको नेता पनि हुनुहुन्छ । अहिले धमाधम प्रदेशहरुमा नेकपा एमालेको नेतृत्वमा रहेका प्रादेशिक सरकारहरु ढलेका छन । केही महिना अघि गण्डकी प्रदेशमा र हिजो मात्र लुम्बिनीमा सरकार ढलेको छ । अब बागमतीमा चाहिँ के हुन्छ ?

बानियाँ : अबश्य पनि केन्द्रीय राजनीतिको प्रभाव प्रदेश सरकारहरुमा पेरको छ । र यो स्वभाविक पनि हो । हामीले गठबन्धनको सरकार निर्माणको प्रकृया केन्द्रमा र अरु प्रदेशहरुमा जस्तै बागमती प्रदेशमा पनि शुरु गरेका छौँ । अहिले हामी घनिभूत छलफलमा जुटेका छौँ । कुनैपनि दिन अर्थात छिट्टै नेपाली काँग्रेसको नेतृत्वमा अरु दलहरुको सहभागितासहितको सरकार बन्ने कुरामा म विश्वस्त छु ।

प्रश्न : बागमतीमा पनि काँग्रेस नेतृत्वमा नै सरकार बन्छ ? 

बानियाँ : अहिलेसम्मको राजनीतिक छलफलको आधारमा भन्ने हो भने काँग्रेसको नेतृत्वमा नै सरकार बन्ने सम्भावना अत्यधिक छ ।

प्रश्न : संघीय सरकारले पूर्णता पाउन त निकै कठिन भयो नि ?  तपाइँहरुले के सुझाव दिनुभएको छ पार्टी सभापति एवं प्रधानमन्त्रीलाई ?

बानियाँ : यो गठबन्धनको सरकार भएको हामी सबैलाई थाहा नै छ । स्वभाविक रुपमा एकल सरकार गठन गर्न भन्दा गठबन्धनको सरकार निर्माणमा कठिनाइ आउने नै भयो । यसमा पनि सरकारमा सहभागी दलका विभिन्न आन्तरिक समस्याहरु छन । खासै भन्ने हो भने नेपाली काँग्रेसको कारणले सरकारले पूर्णता नपाएको होइन । अरु सरकारमा सहभागी दलहरुको आन्तरिक समस्यालाई प्रधानमन्त्रीले राम्रोसँग बुझ्नुभएको छ र त्यसै अनुरुप व्यवहार पनि गर्नुभएको छ । त्यसैले झट्ट हेर्दा नेपाली काँग्रेस  वा प्रधानमन्त्री देउवाले गर्न नसकेको जस्तो देखिएपनि वास्तविकता त्यो होइन। सत्ता साझेदार दलहरुको समस्यामा प्रधानमन्त्रीले पनि धैर्यता लिनुभएको हो । अब छिट्टै सरकारले पूर्णता पाउने आश्वासन प्रधानमन्त्रीले हामीलाई दिनुभएको छ ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.