पर्यटकको पर्खाइमा टाँके भ्याली (तस्वीरसहित)

हुम्ला- पाँचऔँले, कुटकी, जटामसी, सेतो चिनी, अतिस, सर्पगन्धा, लगायतका बहुमूल्य जडीबुटी प्रशस्त पाइने र झारल, मृग, नावर लगायतका जंगली जनावर पाइने टाँके भ्याली प्रचारप्रसारको अभावमा अझै पर्यटकीय गन्तव्य बन्न सकेको छैन् ।

कर्णाली भन्ने बित्तिकै अधिकांश नेपालीको मनमा रोग, भोक र विपन्नताको तस्वीर आउँछ । यहाँ आउनेहरू यहाँको गरिबीबारे बुझ्‍न आउने गरेका छन् तर, धेरैलाई कर्णाली पर्यटकका लागि आकर्षक केन्द्र बन्न सक्छ भन्ने थाहै नहोला ।

तर मेरो यात्रा भदौ ५ गते हुम्लाको सदरमुकाम सिमकोटदेखि सिम्रिक एयरको हेलिकप्टरमा ४ जानको टोली टाँके भ्यालीको यात्रा रह्‍यो । सिमकोटदेखि १० देखि १५ मिनेटमा हेलिकप्टरबाट टाँके भ्याली पुगियो ।

हेलिकप्टरबाट टाँके भ्याली पुग्ने बितिकै हामीले स्वर्ग पुगेको अनुभव गर्‍यौं । हामी हिल्सा सिमकोट सडक योजनाका प्रमुख विसुन दास लामा,निर्माण व्यवसायी प्रकाश शाही,पत्रकार पदमराज हमाल यात्रामा थियौं ।

बिहानीको सूर्यको किरणले गगनचुम्बी सेता हिमाललाई अंकमाल गरिरहेका थिए । फेदीमा गलैचा बिछ्याएझैं घाँसे मैदानमा भेडा र पशुवस्तु चरिरहेका छन् । भ्यालीको बीचमा कलकल हिमनदी बगिरहेको छ ।

भ्याली पशुवस्तु पनि आनन्दसँग आराम गरिहेका छन् । घाँसेखर्कमा मन लोभ्याउन रंगीचंगी लेकाली फूलहरु फूलिरहेको देखिन्छन् । गोठालाहरु आफ्नै ध्यानमा देखिन्छन् ।

टाँके भ्याली नजिकै ठिङ्ग उभिएको छ ५३५८ मिटरको काङला भञ्ज्याङ्ग । काङ्ला भञ्ज्याङको फेदमा पर्छ टाँके भ्याली । यो भ्याली यति सुन्दर देखिन्छ की मानौ विभिन्न ग्रन्थहरुमा वर्णन गरिएको स्वर्ग यही ठाँउ हो । नेपाली उखान छ नजिकको तिर्थ हेला । भनेझैं स्थानीय सरकारले पनि यस ठाउँलाई खासै ध्यान दिएको जस्तो देखिंदैछ ।

चंखेली गाउँपालिका–५ नेप्कामा अवस्थित टाँके भ्याली पैदल एक दिन हिडेर पुग्न सकिन्छ । यहाँ खान बस्नका लागि स्तरीय होटल छैनन् । भेडा र पशुवस्तु गोठमा बस्नुपर्छ तैपनी दुईचार दिन बितेको पत्तै नहुँदो रहेछ ।

छिनछिनमा फेरिइरहन्छ यहाँको मौसम । एकैछिनमा घाम लाग्छ एकैछिनमा बादल लागेर अँध्यारो भइहाल्छ । दुईदिनसम्म बस्दा पनि टाँके भ्याली छाडेर हिंडन मनले मानिरहेको थिएनन् । तर सबैलाई घर फर्किन नै पर्ने थियो । ५ गते टाँके भ्याली भदौ १७ गते गन्तव्यतर्फ फर्कियौं ।

रमणीयस्थल हुँदाहुँदै पनि टाँके भ्याली स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बन्न सकेको छैनन् । यो ठाँउलाई पदमार्गका रुपमा विकास मात्रै गर्ने सकेका चंखेली गाउँपालिका ५ का स्थानीयहरुको आम्दानीको श्रोत बन्ने सम्भावना छ । हुम्लाको लिमि लाप्चापछि हुम्ला चिनाउने अर्को पर्यटकीय गन्तव्य टाँके भ्याली नहुनेमा दुई मत छैन ।

के-के हेर्न सकिन्छ टाँके भ्यालीमा ?

स्वदेशी तथा विदेशी पर्यटकका लागि पदमार्गको सम्भावना बोकेको टाँके भ्यालीमा विभिन्न प्रजातीका चराचुरुगी, जंगली जनावर, ताल तलैया झरना छाँगा छहरा र अहिलेसम्म प्रचार हुन नसकेको भ्यु दुलो पनि यही भ्याली भित्र पर्छ ।

हुम्ला जिल्लाकै ठुलो झरना कक्षेपु झरना टाँके भ्याली जाने बाटोमै पर्छ । अनौठो फुने छहरा पनि देख्न सकिन्छ । बाह्रै महिना हिमालबाट हिँउ पग्लेर बगिरहने कलकल बग्ने खोला नाला पनि हेर्न अर्को अवसर छ ।

टाँके भ्याली घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुले ६,०८८ मिटर उचाई रहेको गोरख हिमाल पनि यही टाँके भ्याली भित्र पर्छ । टाँके भ्यालीदेखि उत्तरी चीनको दोङपा प्रान्त पनि नजिकै छ । टाँके भ्यालीबाट एक दिनमै चीन पुग्न सकिन्छ ।

कसरी पुग्ने टाँके भ्याली ?

नेपालगञ्जदेखि हुम्लाको टाँके भ्याली कसरी पुग्ने भन्ने कौतहलता हुन सक्छ यो भ्याली नेपालगञ्ज सुर्खेतबाट गाडीको यात्राबाट चंखेली गाउँपालिका पुगिन्छ ।

चंखेली गाउँपालिका केन्द्र पिप्लाङदेखि नेप्का गाउँ एक दिनमा पुगिन्छ । नेप्का गाउँबाट दुईदेखि तीन दिनको पदयात्रामा सहिजै पुगिन्छ यो भ्याली । हिमालतर्फ पर्ने भएकोले लुगा कपडा न्यानो बोक्न आवश्यक छ ।

गाउँभन्दा माथि जंगलको बाटो भएकाले खाजा नास्ता खाना आफै बोक्नुपर्ने हुन्छ । १० देखि २० दिनको प्याकेज लिएर आउनुपर्ने हुन्छ । पर्यटकीय गन्तव्य रुपमा विकास गर्ने सरोकार वाला निकायको ध्यान पुग्ने हो भने टाँके भ्याली हुम्लाको लिमि उपत्यकापछि दोस्रो रोजाईमा पर्ने सम्भावना छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.