परराष्ट्रमन्त्रीमा खड्काद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काङ्ग्रेसका सांसद डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई बुधबार नै पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।

परराष्टमन्त्री खड्काको जीवनी
परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो ।

विसं २०२३ मा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लाग्नुभएका उहाँले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुभएको छ । विसं २०६४ मा उदयपुर–१ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभएका उहाँ २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।

सोही स्थानबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित डा खड्का अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य हुनुहुन्छ । विसं २०७० मा उहाँ सहरी विकास मन्त्री हुनुहुन्थ्यो भने २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार हुनुहुन्थ्यो । उहाँले २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसक्नुभएको छ । राजनीतिक आन्दोलनका क्रममा काठमाडौँ र विराटनगरमा पटकपटक पक्राउ पर्नुभएका उहाँ विभिन्न समयमा पाँचपटक जेल पनि पर्नुभएको थियो ।

राजनीतिसँगै अध्ययन र समाजसेवमा विशेष रुचि राख्ने मन्त्री खड्का चार दशकदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । अर्थशास्त्रमा विद्यावारीधि गर्नुभएका उहाँ नेपाली कांग्रेसको प्रभावशाली नेता मानिनुहुन्छ । उहाँ संविधानसभा पदकलगायत विभिन्न पदकबाट सम्मानित भइसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.