पहिरोले विस्थापित हुप्सेकोटका स्थानीय ३ महिनादेखि अस्थायी टहरामै

नवलपुर- हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ वाकखोरका पहिरो प्रभावितहरुले छिटो भन्दा छिटो सुरक्षित घरमा बस्ने व्यवस्था मिलाइदिन सरकारलाई आग्रह गरेका छन ।

पहिरोले विस्थापित भएर गाउँ छोडेको लामो समय भएपनि अझै विद्यालय र टेन्टमा बस्नु परेको भन्दै छिटो भन्दा छिटो आफ्नो घरमा बस्न पाए राहत हुने पिडितहरुले बताएका छन ।

गत असार २४ गते आएको अविरल वर्षापछिको पहिरोले विस्थापित भएका १८ घरपरिवारका १ सय १८ जनालाई दुई महिना जनता माध्यमिक विद्यालय वेलुवामा राखिएको थियो ।

अहिले विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन शुरु हुन लागेपछि भने पिडितहरुलाई वेलुवा-१ को कोभिड अस्पताल क्षेत्रमा टेण्टमा सारिएको छ ।

“दुई महिना स्कुलमा बस्यौँ, अहिले फेरि टेन्ट टाँगेर बसेका छौँ कहिलेसम्म हामी यसरी ठाउँ सर्दै बस्ने हो ?”

सोम बहादुर सोमै मगरले भने “ टेन्टमा दिनमा बस्न गर्मी हुन्छ, पानी पर्दा सबै पानी भित्रै पस्छ साना साना बच्चाहरु लिएर बस्न निकै गाह्रो भएको छ ।”
हुप्सेकोट गाउँपालिकाले पहिरोले विस्थापित वाकखोरका १८ घर परिवारको सुरक्षित बास स्थान्नान्तरणको लागि तत्काल एक दिनमा निर्माण हुने घरको तयारी गर्न लागेको जनाएको छ ।

पहिरोले विस्थापित भएका र पहिरोको जोखिम क्षेत्रमा बस्दै आएका स्थानियहरुका लागि दिगो व्यवस्थापन गर्न प्रदेश र केन्द्र सरकारलाई पटक पटक निवेदन गरेपनि सुनुवाई नभएको भन्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मिदेवी पाण्डेले केन्द्र सरकारले नागरिकलाई सुरक्षित गर्ने दायित्वबाट पन्छिने छैन भन्ने आशा अझै राखेको बताउनुहुन्छ ।

अहिले किर्डाक नेपालले जस्तापाता सहयोग गर्ने भएको हुँदा तत्कालको लागि वडा नम्बर १ को जुकेपानी क्षेत्रमा रहेको सार्वजनिक जग्गामा एक दिनमा नै निर्माण हुने घर बनाउने तयारीमा जुटेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

पहिरोका कारण विस्थापित भएका वाकखोर वासी मात्रै होइन गाउँपालिकाको वडा नम्बर २,४,५ र ६ नम्बर का स्थानिय वासिन्दा पनि पहिरोको उच्च जोखिममा परेका छन । सोही क्षेत्रका स्थानीय पनि सरकारले कहिले सुरक्षित स्थानमा सार्ला भन्ने प्रतिक्षामा छन ।

गत भदौ १० गते आएको वर्षाका कारण पहिरोले घर भत्किँदा गाउँपालिकाको वडा नम्बर ४, चारघरेका ३ जनाको ज्यानसमेत गएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.