इडिभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश

काठमाडौं- इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको पाइएको छ ।

डिभी परेर अमेरिका जान लाग्दा उनीहरुको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले यस्ता गतिविधिमा संलग्न तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने चितवनको जुगेडीका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनीका ३१ वर्षीय नवीन दराई र काठमाडौँ कोटेश्वर बस्ने रौतहट चन्द्रपुरका ३२ वर्षीय शिव रोक्का रहेका छन् । उनीहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

नेपालस्थित अमेरिकी दूतावासमा इडिभी २०२१ को नतिजामा नाम निकाली भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता बुझाउने क्रममा केही व्यक्तिले प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भनेर अमेरिकी दूतावासबाट प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा उनीहरुले नक्कली प्रमाणपत्र प्रयोग गरेको पाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

दराई र रोक्कालाई महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले महाराजगञ्जबाट पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान गर्दा दराईसँग काठमाडौँका कार्कीले रु एक लाख ७० हजार लिई उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिएको खुल्न आएपछि उनलाई समेत कलङ्कीबाट पक्राउ गरिएको जनाइएको छ ।

तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ ।

यसअघि भदौ १८ मा पनि महाशाखाले यसैगरी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा छ जनालाई पक्राउ गरेको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.