चाडपर्व लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

काभ्रे- चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय काभ्रेको नेतृत्वमा बजार अनुगमनलाई तीव्रता दिएको छ ।
सोही क्रममा जिल्ला बजार अनुगमन समितिले आज काभ्रेको बनेपा बजारमा गरिएको अनुगमनको क्रममा तोकिएको मुल्य भन्दा बढीमा उपभोक्तालाई सामान बिक्री गर्ने पसल सञ्चालकलाई जरिवाना गर्नुका साथै पशु बधशाला सञ्चालकहरुलाई बधशाला दर्ता गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको टोलीले खाद्यान्न पसल, मासु पसल, कस्मेटिक लगायतका पसलहरुको अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा बनेपा नगरपालिका वडा नं. ९ शाही टोलमा सञ्चालन गर्दै आएको पशु बधशाला विना दर्ता सञ्चालन गरेको पाएको कारण त्यसो नगर्न निर्देशन दिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकका प्रमुख मोगलप्रसाद साहका अनुसार अनुगमनको क्रममा शाही टोलमा विगत लामो समयदेखि सञ्चालन गर्दै आएको बधशालाहरु विना दर्ता चलाइरहेको र ति सबै दर्ता नगरि सञ्चलान गरेको पाइएको बताउनुभयो । मासु पसल दर्ता गरेर त्यसैको नाममा बधशाला समेत सञ्चालन गरेको पाईएको कारण पसल दर्ता एउटा काम गराई अर्को भएको पाइएको कारण तत्काल दर्ता प्रक्रियामा जानको लागि निर्देशन दिएको छ ।
बनेपाको शाही टोलमा ८÷९ वटा बधशाला सञ्चालनमा आएकोमा सबै बिना दर्ता सञ्चालन गरेको र त्यसरी सञ्चालनमा आएको बधशाला मापदण्ड अनुसारको नभएको पाईएको छ ।
अनुगमनको क्रममा बनेपा नगरपालिका वडा नं. ७ गोदामचोकमा रहेको ईजी सपले तोकिएको भन्दा बढी मुल्यमा सामान विक्री गरेको पाईएको भन्दै पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय बनेपा काभ्रे उद्योग वाणिज्य संघ भेटेरिनरी, अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।






प्रतिक्रिया राख्नुहोस्