राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँको अवलोकन

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गर्नुभएको छ । नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भई उहाँले फूलपाती बढाइँ अवलोकन गर्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो ।

कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम गरिदै आएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा सहभागी हुनुभयो ।

मन्त्रिगण, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभाव समारोहमा उपस्थित हुनुहुन्थ्यो ।

बढाइँ समारोहमा आएका विशिष्ठ पाहुनालाई बलाध्यक्षरथी बालकृष्ण कार्कीले स्वागत अभिवादन गर्नुभयो । फूलपाति बढाइँको नेपाल टेलिभिजनलगायतका विद्युतीय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेको थिए । टुँडिखेल वरपर सर्वसाधारणले चाखपूर्वक बढाइँ हेरिरहेका देखिन्थ्यो ।

अस्वस्थताका कारण फूलपाती बढाइँमा प्रधानसेनापति अनुपस्थित
प्रधानसेनापति प्रभुराम शर्मालाई ज्वरो आएका कारण आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित हुनुभएको छ ।

स्वास्थ्य सतर्कता अपनाउँदै सो समारोहमा उहाँ उपस्थित नहुनुभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

प्रधानसेनापतिलाई ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.