नेपालगन्ज र सुनसरी घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण, कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं– नेपालगन्ज र सुनसरी घटनाबारे मुस्लिम आयोग र राष्ट्रिय महिला आयोगले गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गराएका छन् ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र महिला आयोगका अध्यक्ष कमला पराजुलीसहितका टोलीले मंगलबार गृहमन्त्री खाँडलाई भेटेर दोषिमाथि कारबाहीको माग गर्नुभएको हो ।
जवाफमा गृहमन्त्रीले दुवै घटनाबारे छानबिन गर्न समिति गठन गरिएकाले छिट्टै सत्यतथ्य पत्ता लगाएर कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।
बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ताबारे जिल्लामा सुनुवाइ नभएपछि २० दिन हिँडेर काठमाडौं आउनुभएकी महिला अधिकारकर्मी रुबी खान अनशनमा बस्नुभएको थियो । उहाँले ११ औं दिनमा अनशन तोड्नुभएको छ ।
दुवै आयोगका अध्यक्षले गृहमन्त्रीलाई भेट्नुअघि अनशनस्थलमा पुगेर खानसहितका अधिकारकर्मीलाई भेट्नुभएको थियो ।
अध्यक्ष अन्सारीले अन्तरजातीय र अन्तरधार्मिक प्रेम विवाह गरेका सुनसरी भोक्राहाका मोहम्मद हाकिम साहको हिरासतमा मृत्यु भएको घटनाबारे पनि छानबिन गरी कारबाही गर्न ध्यानार्षण गराउनुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्