बाढीपीडितलाई सरकारको मल्हम, सुदूरपश्चिमबाट फर्केलगत्तै प्रधानमन्त्री पूर्वतिर

‘विकास निर्माणका कामलाई स्थगित गरेर सरकारले प्रकोप पीडितहरुको राहत र उद्धारलाई प्राथमिकता दिन्छ’

काठमाडौं– सुदूरपश्चिमबाट फर्केलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो र डुबानमा परेका पूर्वी क्षेत्रका विभिन्न जिल्लाहरुको स्थलगत अवलोकन गर्नुभएको छ । मोरङ सुनसरी पाँचथर र इलाममा प्रभावित क्षेत्रको भ्रमण र प्रभावित नागरिकहरुसँग कुराकानी गरेपछि प्रधानमन्त्री देउवाले सरकारले विकास निर्माणका कामलाई स्थगित गरेर प्रकोप पीडितहरुको राहत र उद्धारलाई प्राथमिकता दिइएको बताउनुभयो ।

मोरङको विराटनगर विमानस्थलमा उत्रने वित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलमै मोरङमा बाढी पहिरो तथा डुबानले पारेको क्षतिबारे जानकारी लिनुभयो । उहाँले बाढी पहिरो र डुबानबाट पीडितहरुलाई अल्पकालीन र दीर्घकालीन योजना बनाएर राहत उपलब्ध गराउने बताउनुभयो । प्रधानमन्त्री देउवाले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनिकरण गर्न सरकारले विस्तृत योजना बनाउने जानकारी दिनुभयो । प्रधानमन्त्री देउबाले मोरङको बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गर्नुभएको थियो ।

सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी वल कार्यालयमा प्रधानमन्त्री देउवाले स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुसँगको भेटमा प्रकोपले पुर्‍याएको क्षति लगायतका विषयमा कुराकानी गर्नुभयो । उहाँले बाढी तथा डुबानका कारण समस्यामा परेका पीडितको लागि सरकारले उचित राहतको व्यवस्था मिलाउने जानकारी दिनुभयो ।

प्रदेश नम्बर १ सरकारका प्रमुख सचिवले प्रदेशमा बाढीपहिरोले पारेको प्रभावबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराउनुभएको थियो । उहाँले पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, उदयपुर, धनकुटा, भोजपुर, सोलुखुम्बुमा जनधनको क्षति भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले पाँचथर र इलामको सिमाना क्षेत्रको चिसोपानी पञ्चमीमा बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्नुभयो । त्यसबखत प्रधानमन्त्रीलाई पाँचथर र इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षा अवस्थाबारे जानकारी गराउनुभयो ।

प्रभावित क्षेत्रको निरिक्षणपछि पाँचथरको राँकेमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रकोप नियन्त्रणका लागि सरकारले थप काम गर्ने बताउनुभयो । उहाँले बाढी पहिरोले देशमा ठूलो जनधनको क्षति भएकाले सरकारले विकास निर्माणका कार्यलाई स्थगित गरेर राहत उद्धारको काम गरेको जानकारी दिनुभयो । केहीदिनभित्रै मन्त्रिपरिषदको बैठकबाट प्रभावितहरुलाई थप राहत दिने कुराको निर्णय पनि गरिने उहाँले बताउनुभयो । उबगकभ

बाढी पहिरोमा परी पाँचथरमा ३० जना र इलाममा १४ जनाको मृत्यु भएको छ भने ठूलो परिमाणमा धनमालको पनि क्षति भएको छ । बाढी पहिरो तथा डुबानमा परी प्रदेश नम्बर १ मा ४६ जना पुरुष र २६ जना महिला गरी ७२ जनाको मृत्यु भएको छ । ५ सय ७० घर पूर्ण रुपमा र ८ सय ९४ घर आंशिक रुपमा क्षति भएका छन् भने ४ हजार चौपाया मरेको तथा १५ देखी २० प्रतिशत धानबालीमा नोक्सानी भएको अधिकारीहरुले बताएका छन ।

प्रधानमन्त्रीसँग सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भूसाल, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ पनि सहभागी रहनुभएको छ । प्रधानमन्त्री देउवाले यसअघि बाढी पहिरो तथा डुबान प्रभावित सुदूरपश्चिम क्षेत्रको पनि स्थलगत निरीक्षण गरिसक्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.