हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउँछौँ : मन्त्री शर्मा

मकवानपुर- अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारी स्वामित्वमा रहेका बन्द उद्योग सञ्चालनमा ल्याएर युवामा रोजगार सिर्जना गर्ने बताउनुभयो ।

हेटौँडामा वाइसिएल हेटौँडाको नगर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बन्द रहेका हेटौँडाको कपडा उद्योग, गोर्खाको टायर उद्योग, जनकपुरको चुरोट कारखानालगायत दर्जनौँ उद्योग सरकारले पुनःसञ्चालनमा ल्याएर हजारौँ युवालाई रोजगार दिने सरकारको योजना रहेको सुनाउनुभयो ।

विद्यार्थीलाई पढाई सकिँदासम्म उद्यमी, व्यवसायी र प्राविधिक बनाइसक्ने योजनाअनुरुप सरकारले ‘कमाउँदै, पढ्दै’ योजना ल्याएको मन्त्री शर्माको भनाइ छ ।

यसैगरी घाइतेलाई उपचार, अतिविपन्न परिवारलाई तिहारलगत्तै रु १० हजार दिने योजना सरकारको रहेको उहाँले बताउनुभयो ।

यसका साथै भर्खरै गएको बाढीले धानबाली नष्ट भएकामा किसानको खेतीअनुसार सरकारले ६५ प्रतिशतसम्म राहतको व्यवस्था गरेको मन्त्री शर्माको भनाइ छ । जनतालाई जनमुखी सरकार छ भन्ने आभास दिने उहाँले जनाउनुभयो ।

त्यसैगरी वाग्मती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले जनताको भावनाअनुरुप कार्य गर्ने बताउनुभयो । सरकारले गर्नसक्ने जनपक्षीय कार्य आफूहरूले गर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा वाइसिएल नेपालका इञ्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले माओवादीले महिला, युवालगायतलाई पार्टीमा मात्र नभएर सरकारमा जाने अवसरसमेत प्रदान गरेको जनाउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.