मङ्गोलियन हार्टले झापामा साङ्गीतिक कार्यक्रम गर्दै

झापा- शिवसताक्षी नगरपालिका–८ मा रु ५२ करोड निजी लगानीमा सञ्चालनमा ल्याइएको जिल्लाकै ठूलो वाटर किङ्डम पार्क एण्ड रिसोर्टमा चर्चित मङ्गोलियन हार्टका राजु लामाको साङ्गीतिक ब्याण्डमार्फत कार्यक्रम हुने भएको छ ।

पार्कको व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले आगामी मङ्सिर १० गते सो कार्यक्रम गरिने वाटर किङ्डम पार्क एण्ड रिसोर्टका सञ्चालक सौजनराज सङ्ग्रौलाले पत्रकार सम्मलेन गरी जानकारी दिनुभयो ।

बिर्तामोडदेखि पश्चिम १७ किलोमिटर र दमकपूर्व १४ किलोमिटरमा रहेको पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि ३०० मिटर दक्षिणमा रहेको पार्कमा प्रत्येक महिना विभिन्न साङ्गीतिक कार्यक्रम हुँदै आएको उहाँले बताउनुभयो ।

ठूलो लगानी गरेर गत वर्ष मात्र सञ्चालनमा ल्याइएको पार्क कोभिड–१९ को महामारीका कारण लामो समय बन्द हुँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको उहाँको भनाइ छ । बन्दको समयमा रु छ करोड ५० लाख घाटा व्यहोरेको पार्कमा पछिल्लो समय आन्तरिक पर्यटक आउन थालेका छन् ।

कार्यक्रममा मनोरञ्जन लिन आउने सहभागीबाट रु एक हजारदेखि २५ हजारसम्मको टिकट बिक्री गरिने योजना छ । साङ्गीतिक कार्यक्रमबाट मनोरञ्जन लिनका लागि करिब पाँच हजार पर्यटक भित्र्याउने अपेक्षा लिएको उहाँको भनाइ छ ।

पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिन सकिने स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड छन् ।

पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले जिपलाइन, सुपरम्यान जिपलाइन र जिप साइक्लिङ पनि व्यवस्था गरिएको सञ्चालक समिति सदस्य तथा पत्रकार विनोद सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार पार्कसँगै विवाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा–समारोह गर्नका लागि सुविधासम्पन्न रिसोर्टसमेत सञ्चालनमा रहेको छ । यहाँ स्थानीयवासी ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.