पाँच दलीय गठबन्धन चुनावसम्म लैजान्छौँ : नेपाल

दार्चुला- पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै लैजाने बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) दार्चुलाको जिल्ला कमिटी घोषणा तथा आमसभालाई सम्बोधन गर्न गोकुलेश्वर पुग्नुभएका अध्यक्ष नेपालले अहिले बनेको गठबन्धन स्थानीय तह, प्रदेश, सङ्घ र अब छिट्टै हुने राष्ट्रियसभा निर्वाचनमा यथावत रहने बताउनुभयो ।

उहाँले केपी अ‍ोलीको पार्टीको भविष्य पाँच दलीय गठबन्धमार्फत समाप्त पारिदिने चेतावनी दिनुभयो । अध्यक्ष नेपालले केपी ओलीको कब्जामा रहेको पार्टीको भविष्य नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “आउने चुनावमा पाँचै पार्टी मिलेर जानेछौँ, केपी कब्जामा रहेको पार्टीको पत्तासाफ हुनेछ ।” उहाँले अहिले घोषणा गरिएको कमिटीलाई सबै स्थानीय तह र वडा तहसम्म कमिटी गठन गर्दै चुनावको तयारीमा जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दार्चुलाको निर्माणाधीन गोकुलेश्वर विमानस्थल र मालिकार्जुन धामका लागि बजेटको कमी हुन नदिने बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)को जिल्ला कमिटी घोषणा कार्यक्रममा उहाँले अहिले विमानस्थलका लागि बजेट थोरै भएको भन्दै आफ्नो मन्त्रालयबाट बजेटको कमी हुन नदिने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले विमानस्थलमा थोरै बजेट देखेँ । यो विमानस्थलको टर्मिनल भवन, ट्याक्सी पार्किङलगायतका सबै भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिन्छ ।” उहाँले विमानस्थल निर्माण संवेदनशील भएको भन्दै ठेकेदारले बदमासी गर्नबाट जोगाउन आग्रह गर्नुभयो । “विमानस्थलमा बजेट विनियोजन हुन्छ, यसको निर्माणमा निगरानी गर्नुहोला”, उहाँले भन्नुभयो ।

उहाँले राष्ट्रकै सातौँ धाम मालिकार्जुनमा विगतको सरकारबाट बजेटमा कटौती हुँदै गएको भन्दै अब मालिकार्जुन धाममा क्रमागतरूपमा चाहिने जति बजेट राखिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.