काँग्रेसको प्रदेश अधिवेशन : कतै निर्विरोध, धेरैमा मतदान

काठमाडौँ- नेपाली काँग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनबाट कतिपय क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने अधिकांश क्षेत्रमा निर्वाचनबाट नेतृत्व छनोट गरिएको छ । कतिपय स्थानको मतपरिणाम प्राप्त भइसकेको छ भने केही क्षेत्रमा शनिबारबाट अधिवेशन सुरु हुँदैछ ।

सत्तारुढ दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६१ जिल्लामा शुक्रबार प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु भएको हो । काँग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालका अनुसार ओखलढुङ्गा, सिन्धुपाल्चोक, रसुवा र सर्लाहीबाहेकका जिल्लामा जारी अधिवेशनबाट नेतृत्व चयन भइरहेको छ ।

उहाँले भन्नुभयो, ‘‘चार जिल्लाबाहेक अन्य सबै जिल्लामा प्रदेश सभा अधिवेशन भइरहेको छ, केही क्षेत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको जानकारी आएको छ, अन्य सबैजसो क्षेत्रमा मतदानमार्फत नेतृत्व चयन भइरहेको छ ।’’

सचिव रिजालले काँग्रेसको साङ्गठानिक संरचना ठूलो भएको र नेतृत्वका लागि योग्य प्रतिस्पर्धीहरू धेरै भएकाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएको बताउनुभयो । उहाँले पहिलो पटक प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेकाले नेतृत्व पङ्क्तिदेखि कार्यकर्ता र शुभचिन्तकसम्ममा व्यापक उत्साह रहेको बताउनुुभयो ।

प्रदेश सभाको अधिवेशन हुन बाँकी रहेका काठमाडौँ, भक्तपुर र ललितपुरसहित पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, झापा, मोरङ, सुनसरी, सिन्धुली, काभ्रे, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, रुपन्देही, कपिलवस्तु, पाल्पा,अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बर्दिया, रुकुम (पश्चिम), सल्यान, जाजरकोट, दैलेख, डोटी, अछाम, बैतडी, डडेलधुरा र कञ्चनपुरमा अधिवेशन भइरहेको छ ।

काठमाडौँमा ७ सर्वसम्मत
काठमाडौँका २० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा काँग्रेसको अधिवेशन सम्पन्न भएको छ । काठमाडौँ काँग्रेसका सभापति कृष्ण (सबुज) बानियाँले प्रदेश सभा ४ ‘ख’मा रामप्रसाद लुइटेल, प्रदेश सभा ६ ‘क’मा खेमराज तिवारी, प्रदेश सभा ७ ‘क’मा नवीन मानन्धर, प्रदेश सभा ८ ‘क’मा इन्द्रमान सुवाल, प्रदेश सभा ९ ‘ख’मा राजेन्द्र भट्टराई र प्रदेश सभा १० ‘क’मा शैलेष मानन्धर र प्रदेश सभा १० ‘ख’मा धर्मानन्द श्रेष्ठ निर्विरोध हुनुभएको जानकारी दिनुभयो । प्रदेश सभा ५ ‘क’मा रमेश डङ्गोल र प्रदेश सभा ७ ‘ख’मा वासुदेव लामा निर्वाचित हुनुभएको जिल्ला सभापति बानियाँले बताउनुभयो ।

यसैगरी भक्तपुर जिल्लामा शुक्रबार निर्वाचनको प्रक्रिया सुरु भएको छ । भक्तपुरका सभापति दुर्लभ थापाले प्रदेश सभाका चारवटै क्षेत्रमा उम्मेदवारी दर्ता, अन्तिम नामावली प्रकाशन र मतदाता नामावली प्रकाशन गरिएको बताउनुभयो ।

‘‘शुक्रबार सङ्घीय निर्वाचन क्षेत्र नं. १ का प्रदेश सभा ‘क’ र ‘ख’ तथा नं. २ का ‘क’ र ‘ख’मा चुनावी कार्यतालिका अनुसार उम्मेदवारी दर्ता भएको छ । शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ’’, सभापति थापाले भन्नुभयो, ‘‘नेतृत्व चयन सर्वसम्मत रूपमै गर्ने प्रयास भए पनि सहमति जुट्न नसकेपछि लोकतान्त्रिक प्रक्रिया सुरु गरिएको हो । ’’

त्यसैगरी ललितपुरका तीनवटा सङ्घीय निर्वाचन क्षेत्रअन्तर्गतका छवटा प्रदेश सभा निर्वाचन क्षेत्रमा काँग्रेसको अधिवेशन भएको छ । ललितपुर सभापति मदन अमात्यका अनुसार सङ्घीय निर्वाचन क्षेत्र २ को प्रदेश सभा ‘ख’मा चन्द्रमान वज्राचार्य सर्वसम्मत चयन हुनुभएको छ ।
‘‘सङ्घीय निर्वाचन क्षेत्र १ का प्रदेश सभा ‘क’ र ‘ख’, २ को ‘क’ र ३ का ‘क’मा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिँदैछ, सबै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भएको छ, मतगणना जारी छ’’ अमात्यले भन्नुभयो ।

यसैबीच ओखलढुङ्गामा प्रदेश सभाको अधिवेशन शनिबार सुरु हुने जानकारी नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले दिनुभएको छ । ‘शनिबार उद्घाटन हुन्छ, आइतबार मतदान हुन्छ, निर्वाचनका कार्यतालिका यसरी नै बनाइएको छ,’ खतिवडाले भन्नुभयो ।

सिन्धुपाल्चोकमा पनि शनिबारबाट नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया सुरु हुँदैछ । काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले ४ गते वडाबाट सुरु भई १४ गते जिल्ला अधिवेशन सम्पन्न गरिने बताउनुभयो ।

“शनिबार वडा अधिवेशन, ६ गते पालिका ‚तरीय अधिवेशन, ८ गते प्रदेश सभाको, १० र ११ गते क्षेत्रको र १३ र १४ गते जिल्ला अधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ”, उहाँले भन्नुभयो ।

रसुवामा नेपाली काँग्रेसको प्रदेशसभा क्षेत्रको अधिवेशन आइतबार सुरु हुने जिल्ला सभापति पेम्बा छिरिङ तामाङले जानकारी दिनुभयो । यसैबीच सर्लाहीमा नेपाली काँग्रेसको अधिवेशन गराउन खटाइएका दोस्रो निर्वाचन अधिकृत दिवाकरराज पाण्डे राजीनामा दिनुभएको छ । काँग्रेस सर्लाहीका सभापति नागेन्द्रकुमार रायले अब केन्द्रीय निर्वाचन समितिले कार्यतालिका जारी गरेपछि अधिवेशन हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.