काँग्रेस महाधिवेशन : प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन जारी, केही निर्विरोध त अधिकांशमा मतदान शुरु

काठमाडौँ- नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आज १ सय ४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन भइरहेको छ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आजदेखि अधिवेशन शुरु भएको हो ।

आज भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनबाट कतिपय महाधिवेशन प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । तर अधिकांश क्षेत्रमा भने महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान भइरहेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार कतिपय निर्वाचन क्षेत्रमा सहमति गराउने प्रयास जारी रहँदा मतदान प्रकृया केही ढिला भएको छ ।

यस अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

चौधौँ महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको काँग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र यही मङ्सिर ३ गतेदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रारम्भ गरिसकेको छ ।

कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन÷एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर ६ गते अर्थात् आजका लागि निर्धारण गरिएको थियो ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यही मङ्सिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्य तालिका तय भएको छ ।

एकमात्र निर्वाचन क्षेत्र भएका अधिकांश १६ उच्च पहाडी तथा हिमाली जिल्लामा भने कांग्रेसले जिल्ला अधिवेशन नै सम्पन्न गरिसकेको छ। क्रियाशील  सदस्यताको विवादका  कारण ७७ जिल्लामध्ये सर्लाहीमा मात्र वडा  अधिवेशन  प्रारम्भ हुन  बाँकी  रहेको  समितिले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.