माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ ।

गत शुक्रबार थाइल्याण्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगेर उपचार सुरु गरिएको थियो । उपचार सुरु गरेपछि उहाँको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको सँगै रहनुभएकी नेता पुनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो । विशेष गरी अमलपित्त बिग्रिएका कारण वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या देखिएका थिए ।

उपचारमा संलग्न चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने जानकारी दिएको नेता पुनका पूर्वस्वकीय सचिव तथा माओवादीका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिनुभयो ।

नेता पुन गत असोज १३ गते उपचारका लागि बैंकक जानुभएको थियो । नेपालमा ललितपुरस्थित सुमेरू अस्पताल र ग्राण्डी अस्पतालमा उपचार गराउनुभएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.