सभापतिमा देउवालाई २२५८, दोस्रो चरणको चुनाव हुने

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गर्नुभएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८, उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको छ । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गर्नुभएको छ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.