दोस्रो चरणको निर्वाचनमा देउवालाई शेखरबाहेक सबैको समर्थन

काठमाडौं- कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा सभापतिका प्रत्यासी शेखर कोइरालाबाहेक सबैले पहिलो मत पाउने शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।
दोस्रो चरणको निर्वाचनअघि प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।
देउवाले सिंह र निधिलाई उहाँहरुकै निवासमा पुगेर भेट्दै समर्थनका लागि आग्रह गर्नुभएको थियो ।
सोमबार भएको निर्वाचनमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले सबैभन्दा बढी मत पाउनुभएको थियो । उहाँले २२५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले १७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गर्नुभएको छ ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा ४७४३ मतदातामध्ये ४६७९ मतदाताले मतदान गरेका थिए । ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।
पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्