संसद निरन्तर अवरोधले देश अस्थिरतातर्फः पौडेल
‘देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो'

काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले निरन्तर संसद अवरोधले मुलुक अस्थिरतातर्फ जाने बताउनुभएको छ ।
एमालेले माधवकुमार नेपालसहित २२ सांसदलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै अवरोध गरिरहेकाबेला पूर्वसभामुखसमेत रहनुभएका पौडेलको भनाइ आएको हो । ‘६ महिनाको समयमा दुई–दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले अध्यक्ष केपी शर्मा ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सहि थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्,’ पौडेलको फेसबुकमा लेख्नुभएको छ, ‘संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने ओलीको नियतिका सामु समपर्ण गरेको ठहर्नेछ ।’
पौडेलले राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने आपत्तिजनक क्रियाकलाप तर्फ सचेत रहन अपिलसमेत गर्नुभएको छ । ‘देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो । समावेशी संसदीय प्रणालीनै सिध्याउन खोजिएको देखिन्छ,’ पौडेलले भन्नुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्