प्रदेश २ प्रदेशसभा बैठकमा दुई अध्यादेश पेश

जनकपुरधाम- प्रदेश नं २ को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेश गरिएका छन् । सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको छ ।

अध्यादेश पेश भएसँगै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख सरोज यादवले आगामी पुस ८ गते बिहीबार दिनको १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो । सामाजिक विकासमन्त्री साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेश गर्नुभएको हो ।

सुरुमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अध्यादेश पेश गर्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए । पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै बैठक अवरुद्ध गराइएको जानकारी दिनुभयो । यो अध्यादेश अलोकतान्त्रिक रहेकाले यसलाई टेबुल हुन नदिने भन्दै बैठक अवरुद्ध गरिएको थियो । उहाँले अध्यादेश फिर्ता नहुँदासम्म संसद् चल्न नदिने पनि बताउनुभएको थियो ।

सभामुख यादवले सरकारले अध्यादेश ल्याउन पाउने नियम रहेको र कुन स्थितिमा ल्याएको भन्ने कुरा सरकारले जवाफ दिनुपर्ने भन्दै अवरोध नगर्न आग्रह गर्नुभएको थियो । लोसपाका सदस्यले अवरोध जारी राखेपछि प्रदेशसभा १५ मिनेटका लागि स्थगित गरी पुनः सुरु भएको बैठकमा अध्यादेश पेश भएको हो ।

मुख्यमन्त्री राउतको राजिनामा माग

प्रदेश नं २ को प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सदस्यले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमअन्तर्गत भएको साइकल खरिदमा अनियमितता देखिएकाले मुख्यमन्त्री राउतलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले माग गर्नुभयो ।

“अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात लिएपछि मुख्यमन्त्रीले प्रदेशसभाकै बैठकमा अलिकति दोषी देखिए मार्ग प्रशस्त गर्छु भन्नुभएको थियो”, सोनलले प्रश्न गर्नुभयो, “अख्तियार प्रमुखले त साइकल खरिदको कागजात हेर्दा पहिलो चरणमा भ्रष्टाचार भएको भनिसकेको छ, यसबारे के भन्नुहुन्छ मुख्यमन्त्रीज्यू रु”

अध्यादेशको पनि विरोध

सोनलले प्रदेश सरकारले कृषि विश्वविद्यालय र विज्ञान प्रविधि विश्वविद्यालय स्थापनाका लागि ल्याएको अध्यादेशको पनि विरोध जनाउनुभयो । उहाँले भन्नुभयो, “न त कुनै इर्मेजेन्सीको अवस्था छ, नत कुनै दैवीप्रकोपको अवस्था छ, यसमा घोर असहमति व्यक्त गर्दछु, यो लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको अवमूल्यन हो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.