वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गएपनि छोड्दिनः मन्त्री श्रेष्ठ

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गएपनि नछोड्ने चेतावनी दिनुभएको छ ।

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन मन्त्रालय गएका व्यवसायीहरुलाई मन्त्री श्रेष्ठले वैदेशिक रोगजारको क्षेत्र मर्यादित, सुरक्षित, व्यवस्थित र बेथिति नियन्त्रण गर्न व्यवसायी उतिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले गलत काममा संलग्न जोसुकै माथि राज्यले कानुनअनुसार कारवाहीको प्रक्रिया अघि बढाउने बताउनुहुँदै वैदेशिक रोगजारसम्बन्धी बेथितिको अनुसन्धान र कारबाही गर्ने छुट्टै प्रणाली स्थापना गर्ने तयारी गरिएको बताउनुभयो । व्यवसायीहरुका जायज सुझावहरुलाई सरकारले ग्रहण गर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्री श्रेष्ठले वैदेशिक रोगजारको क्षेत्रमा रहेका बेथिति रोक्ने, नयाँ प्रणाली स्थापित गर्ने, सुरक्षित र व्यवस्थित बनाउने आफ्नो योजनामा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

वैदेशिक रोजगारीमा देखिएका विकृतिलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्नेबारे मन्‍त्रालयले गठन गरेको कार्यदलले अध्ययन गरिरहेको उहाँले बताउनुभयो । उहाँले वैदेशिक रोजगार व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै मर्जमा जान पनि सुझाव दिनुभयो ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले सरोकारवला सवै पक्षको संयुक्त पहलबाट वैदेशिक रोजगारीका चुनौतिहरु समाधान हुने बताउनुभयो ।

सचिव अर्यालले वैदेशिक रोजगारीका क्रममा हुने विकृति, विसंगति र गैरकानुनी कामहरुलाई नियन्त्रण गर्न वैदेशिक रोजगार प्रहरी बनाउने योजना अघि बढाइएको बताउनुभयो । वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि ठगिरहित रोजगारी प्रत्याभूत गर्न मन्त्रालय क्रियाशील रहेको उहाँको भनाइ छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.