रक्षामन्त्री डा. मिनेन्द्र रिजालद्वारा राजीनामा घोषणा
'महामन्त्रीमा जस्तो परिणाम आयो, नैतिकताले मैले छाड्नुपर्छ'

काठमाडौं- रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा घोषणा गर्नुभएको छ ।
नेपालटीभी अनलाइन डट कमसँग कुरा गर्दै रिजालले राजीनामा दिने बताउनुभयो । उहाँले महामन्त्री पदको अन्तिम परिणाम घोषणा भएपछि प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘महामन्त्रीमा जस्तो परिणाम आयो, नैतिकताले मैले छाड्नुपर्छ ।’
महामन्त्रीका ६ जना प्रतिस्पर्धीमध्ये डा. रिजाल पाँचौ स्थानमा हुनुहुन्छ । उहाँ डा. शेखर कोइरालाको समूहबाट महामन्त्री उम्मेदवार हुनुहुन्थ्यो ।
नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।
— Minendra Rijal (@MinendraRijal) December 16, 2021
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा डा. रिजालले असोज २२ गते रक्षामन्त्रीको जिम्मेवारी पाउनुभएको थियो ।
डा. रिजाल २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्