कोरोना नियन्त्रण गर्न सरकार क्रियाशील : मन्त्री खतिवडा

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विश्वव्यापी चुनौतीका रुपमा देखा परेको कोरोना भाइरस नियन्त्रणमा सरकार क्रियाशील रहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा उहाँले छिटोभन्दा छिटो नेपाललाई कोरोनामुक्त पार्ने ध्येयका साथ स्वास्थ्य सेवालाई प्रभावकारी, जनमुखी, सर्वसुलभ र जनउत्तरदायी बनाउन सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो ।

“कुनै विशेष तह वा क्षेत्रको प्रतिकार्यले मात्रै कोभिड–१९ को रोकथाम र नियन्त्रण सम्भव नहुने हुनाले यसका विरुद्ध सबै क्षेत्र, वर्ग र तह तप्का लाग्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “सबैको प्रयासले एकले अर्कालाई सुरक्षित राख्ने र सम्भावित जोखिमबाट बच्न र बचाउने भूमिका निर्वाह गर्नुपर्छ, सुझबुझपूर्ण साथ र व्यवहारले मात्र यो लडाईं जित्न सम्भव छ ।”

जनस्वास्थ्यका मापदण्डको पालना र कोभिड–१९ विरुद्धको खोप अभियानमा सक्रिय सहभागिताले नै कोरोना नियन्त्रणमा सहयोग मिल्ने उल्लेख गर्दै मन्त्री खतिवडाले सर्वसाधारणलाई सहज हुने गरी खोप केन्द्रमार्फत सरकारले निःशुल्क खोप उपलब्ध गराउँदै आएको बताउनुभयो ।

सरकारले १८ वर्ष र माथि उमेर समूहका लागि कोभिशिल्ड र भेरोसेल खोप र १८ वर्ष मुनिका उमेर समूह (१२–१७) का लागि फाइजर र मोडर्ना खोप लगाउँदै आएको छ । उहाँले सरकारको प्राथमिकतामा रहेको कोरोना विरुद्धको खोप अभियानलाई सफल पार्न अपिल गर्नुभएको छ ।

मन्त्री खतिवडाले १२ देखि १७ वर्षका बालबालिकालाई आफू अध्यन गर्ने वा आफूलाई नजिक पर्ने विद्यालयमा रहेको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गर्नुभयो । ‘ओमिक्रोन’ भेरियन्टलाई फैलन नदिन सरकारले विभिन्न सुरक्षात्मक उपाय कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो ।

सरकारले दक्षिण अफ्रिकालगायत विभिन्न नौ देशबाट मङ्सिर १६ गते राति १२ बजेदेखि नेपाल प्रवेश अनुमति नदिने निर्णय गरेको छ । यस्तै अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुका थप नमूना सङ्कलन गरी जीन सीक्योन्सिङ गर्ने गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म दुई करोड १९ लाख ८८ हजार ५१६ मात्रा खोप लगाइएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । एक मात्रा खोप प्राप्त गर्नेको सङ्ख्या एक करोड २२ लाख ५१ हजार १८३ र पूर्ण खोप प्राप्त गर्नेको सङ्ख्या ९७ लाख ३७ हजार ३३३ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.