सर्वोच्चले सोध्यो– ‘चार्ल्स शोभराजलाई थुनामुक्त किन नगर्ने ?’

काठमाडौँ- सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैद भुक्तान गरिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त किन नगर्ने भन्दै सरकारलाई प्रश्न गरेको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै बिहीबार थुनामुक्त गर्नु नपर्ने कारण माग गरेको हो ।

शोभराजलाई थुनामुक्त नगर्नुपर्ने कुनै कारण भए महान्यायाधीवक्तलाको कार्यालयमार्फत तीन दिनभित्र जवाफ पेस गर्न सरकारलाई भनेको छ । शोभराजले आफूले सजाय भोगिसकेको भन्दै थुनामुक्त गर्न मागसहित बुधबार बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमका आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने आधार र कारण भए सोसमेत साथै राखी यो आदेश प्राप्त भएका मितिले बाटाकाे म्यादबाहेक ३ (तीन) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेशको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरुको नाउँमा म्याद सूचना पठाई सोको जानकारी महान्यायाधिवक्ताको कार्यालयमा दिई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमाअनुसार पेश गर्नु ।’

बिकिनी किलरको रुपमा चर्चा पाएका फ्रान्सेली नागरिक शोभराजलाई नेपालमा दुई विदेशी नागरिकको हत्याको कसुरमा सर्वोच्च अदालतले जन्मकैद सजाय सुनाएको थियो । कारागार नियमावली, २०२० ले ७० वर्ष उमेर पुगेका र असल आचरण भएका नागरिकलाई ७५ प्रतिशत कैद मिनाहा गर्न सकिने व्यवस्था गरेको छ । शोभराजले आफ्नो उमेर ७७ वर्षमाथि पुगेको भन्दै उक्त सुविधा पाउनुपर्ने दाबी गरेका छन् । शोभराजले यसअघि पटकपटक दिएका निवेदन दरपिठ भएका थिए ।

शोभराजमाथि नेपालबाहेक भारत, थाइल्याण्ड, इरान, टर्कीलगायत देशमा २० बढी मानिसको हत्या अभियोग लागेको छ । उनी ‘विकिनी किलर’ र ‘सिरियल किलर’ उपनामले चिनिन्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.