वैशाख १४ गते स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं– निर्वाचन आयोगले वैशाख १४ गते स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भएको भेटमा निर्वाचन आयोगका पदाधिकारीले वैशाख १४ गते निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

‘मौजूदा कानून बमोजिम स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख महिनामा गर्नुपर्ने अवस्था रहेकोले सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने हुँदा मिति २०७९ वैशाख १४ गते बुधबारका दिन निर्वाचनको मिति तोक्न उपयुक्त हुने’ आयोगले प्रस्ताव गरेको छ । आयोगले कुनै कारण एकै दिन निर्वाचन गर्न संभव नभएमा पहिलो चरण मिति २०७९ वैशाख १४ गते बुधबारका दिन र दोश्रो चरण मिति २०७९ वैशाख २२ गते बिहीबारका दिन गर्न सकिने समेत विकल्प दिएको छ ।

भेटघाटमा प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँड, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडु, मुख्य सचिव, गृह सचिव र अर्थ सचिव समेतको उपस्थिति रहेको थियो ।

आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, निर्वाचन आयुक्तहरु ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शम्सेर ज.ब.रा.को उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रियसभा सदस्य निर्वाचन, मतदाता नामावली संकलन विशेष कार्यक्रम, स्थानीय तहको निर्वाचन, निर्वाचन सुरक्षा व्यवस्था तथा निर्वाचन खर्च लगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.