केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथासङ्ग्रह सार्वजनिक

काठमाडौँ- साहित्यकार केशवराज ज्ञवालीको पहिलो कथासङ्ग्रह ‘अर्को भोर’ आज काठमाडौँमा सार्वजनिक गरिएको छ ।

अमेरिकामा इञ्जिनियरिङको काम गरिरहनु भएका ज्ञवालीको यो कथा संग्रह भित्र १४ वटा कथाहरु समावेश छन । यी मध्ये अधिकांश कथाहरुले नेपाली-अमेरिकी अनुभवलाई उजागर गरेको छ भने केही कथाहरु नेपालको द्वन्दसँग जोडिएका छन ।

अमेरिकाको १४ बर्षे बसाइमा साहित्यकार ज्ञवालीले लेख्नुभएको यो पहिलो एकल कृति भएपनि यसअघि उहाँका ‘अक्रोस द ओसन’  र ‘उत्तर अमेरिकाका कविता संग्रह’ सार्वजनिक भइसकेका छन । यी कृतिहरु भने उहाँसहित अरु साहित्यकारहरुको संयुक्त रचना हुन। यसैगरी, ‘आँगन छोडेपछि’ संस्मरण पनि उहाँले यसअघि नै प्रकाशित गरिसक्नुभएको छ ।

कथा संग्रह सार्वजनिक गर्नुहुँदै साहित्यकार नारायण ढकालले विश्वको साहित्यिक नक्सामा नेपाल कतै नदेखिएकाले देखाउने जिम्मेवारी युवा पुस्ताका लेखकमा आएको बताउनुभयो । नेपाली साहित्यलाई विश्व मानचित्रमा चिनाउन स्तरीय कृति अनुवाद हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विश्वव्यापीकरणको वर्तमान सन्दर्भमा साहित्यकार जुन देशमा बसे पनि नेपाली साहित्य र संस्कृतिको सेवा गर्नसक्ने साहित्यकार ढकालको भनाइ थियो ।

साहित्यकार केशवराज ज्ञवालीको पहिलो कथासङग्रह ‘अर्को भोर’ लोकार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै आख्यानकार एवं पूर्व सांसद नारायण ढकाल ।

समालोचक महेश पौडेलले नेपाली एवं अङ्ग्रेजी साहित्यकै पठनपाठनमा लागेकाले मात्र साहित्य सिर्जना गर्नुपर्छ भन्ने मान्यता गलत सावित हुँदै गएको उल्लेख गर्नुहुँदै फरक पेशा र व्यवसायका मानिस साहित्यिक क्षेत्रमा आउँदा नयाँ विषय सिर्जनाका रुपमा पाठकसामु प्रस्तुत हुने बताउनुभयो । ज्ञवालीको कथा संग्रह भित्रको ‘एक्वारियम’ कथालाई आफूले उत्कृष्ट कथाका रुपमा लिएको समालोचक पौडेलको भनाइ थियो ।

समालोचक ज्ञानु अधिकारीले ‘अर्को भोर’ कथासङ्ग्रहले कथाको परम्परागत मान्यतालाई तोडेको उल्लेख गर्नुहुँदै प्रसस्त उपकथा जोडिएको बताउनुभयो । कथासङ्ग्रहमा धेरै कथा अमेरिकाका परिवेशमा लेखिएका छन् । केही कथा भने नेपाल र खाडी मुलुकको सन्दर्भमा पनि लेखिएको उहाँले जानकारी गराउनुभयो ।

नारी संवेदनालाई छानेर राखिएको कथामा यौन मनोविज्ञानको सङ्केत पनि रहेको समालोचक अधिकारीले सुनाउनुभयो । गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइरालाजस्ता कथाकारलाई पछ्याउँदै ज्ञवाली नेपाली साहित्यमा ‘अर्को भोर’ बाट उदाउनुभएको हो । कार्यक्रममा लेखक ज्ञवाली र प्रकाशक संस्था शिखा बुक्सका पुष्पराज पौडेललगायतले कथासङ्ग्रह फरक स्वाद र पहिचानका साथ नेपाली कथा क्षेत्रमा आएको जानकारी गराउनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.