प्रधानमन्त्री सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात’ समिट स्थगित

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भनिएको भारतको ‘भाइब्रेन्ट गुजरात’ समिटको मिति सरेको छ । भारतीय पत्रिका ‘द हिन्दु’का अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण ह्वात्तै बढेपछि गुजरात सरकारले समिटको मिति सारेको हो । जनवरी १० देखि हुने भनिएको समिटको मिति सरे पनि अर्को मिति भने तोकिएको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने तयारी थियो । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार समिट स्थगित भएको जानकारी भारतीय मिडियाबाट आए पनि औपचारिक पत्र आइनसकेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा मन्त्रालयले औपचारिक सूचि सार्वजनिक गर्न बाँकी भएकाले यो विषयमा अहिले केही भन्न सक्ने अवस्था नभएको उहाँको भनाइ छ । भारतीय विदेश मन्त्रालयले औपचारिक पत्र पठाएपछि मात्र यो विषयमा बोल्न मिल्ने उहाँले बताउनुभयो ।

‘सामान्यतया राष्ट्रपति र प्रधानमन्त्री भ्रमण भन्दा तीन दिन अगाडि औपचारिक रुपमा तालिका सार्वजनिक हुन्छ । हामीले अहिलेसम्म भ्रमणको तालिका सार्वजनिक गरिसकेका छैनौँ’, प्रवक्ता लम्सालले भन्नुभयो, ‘समिट स्थगित भएको विषयमा भारतबाट औपचारिक पत्र आएपछि मात्र केही भन्न सक्ने अवस्था हुन्छ ।’ (गोरखापत्र अनलाइनबाट)

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.