गाउँपालिकाको केन्द्रमा खानेपानी सुविधा पुगेपछि स्थानीयमा खुशीयाली

गोरखा – गाऊँमा खानेपानी सुविधा पुगेपछि गोरखाको ताकुकोट गाऊँका बासिन्दाले नाचगान गर्दै खुशीयाली मनाएका छन् । वारपाक सुलिकोट गाऊँपालिकाको केन्द्र ताकुकोटमा घरघरमै खानेपानी सुविधा पुगेको हो । स्थानीय भुत्तेधारा खानेपानी योजनाको उद्घाटनका क्रममा गाऊँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि र उपभोक्ताले बाजागाजा बजाउँदै नाचगान गरेर आपसमा खुशी साँटेका हुन् । सोही खुशीयालीमा योजनाका एक उपभोक्ता ८८ वर्षका टीकाबहादुर सुवेदीले उद्घाटन कार्यक्रमका अतिथि सहित योजना उपभोक्ता समितिका पदाधिकारीलाई खादा ओढाएर उपहार सहित ब्यक्तिगत रुपमा सम्मान गर्नुभयो ।

खानेपानीको व्यवस्था भएपछि बाजागाजासहित रमाउँदै स्थानीय । फोटो सौजन्य : आत्माराम श्रेष्ठ, गोरखा ।

लामो समयदेखि भोग्दै आएको खानेपानीको असुविधा अन्त्य भएपनि स्थानीय बासिन्दा खुशी भएका हुन् । यसअघि त्यहाँका उपभोक्ता वस्तीभन्दा आधाघण्टा तलको मूलमा पुगेर खानेपानी ओसार्ने गर्दथे । घरमै पानीको सुविधा प्राप्त भएपछि समयको बचत भएको एक उपभोक्ता सीमा बरामले बताउनुभयो । स्थानीय सूर्यज्योती माध्यमिक विद्यालयका विद्यार्थीहरु पनि आफ्ना लागि पानी ओसार्न जानु पर्ने अवस्था थियो । पानी भरेर फर्कँदा पहिलो पिरियडको पढाईनै छुटाउनु पर्ने अवस्था अन्त्य भएकाले विद्यालय परिवार पनि खुशी भएको शिक्षक बाबुराम नेपालीले बताउनुभयो ।

२०७१ सालबाट निर्माण शुरु भएको पञ्चवर्षीय आयोजनाको निर्माणको क्रम जारी छ । हालसम्म २ करोड ११ लाख रुपैयाँ खर्च गरि ७९ घरधुरीमा खानेपानी सुविधा पुर्‍याइएको भुत्तेधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिकी कोषाध्यक्ष विष्णुमाया श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाबाट भञ्ज्याङ गाऊँका ५८ घरधुरी, पाल्खुका ७, बहाकोटका ९ घरधुरी लाभान्वित भएका छन् । सोही योजनाको पानी इलाका प्रहरी कार्यालय ताकुकोट, गाऊँपालिका कार्यालय र सूर्यज्योती माविले पनि उपभोग गरेका छन् । सामाजिक संघसंस्थालाई निशुल्क रुपमा खानेपानी उपभोग गर्न दिइएको छ । उपभोक्तालाई भने १ देखि ६ युनिटसम्मको शुल्क २ शय ५० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै ७ देखि १० युनिटसम्म थप ५० रुपैयाँ, ११ देखि १५ युनिटसम्म ७५ रुपैयाँ र १६ देखि २० युनिटसम्मको ९० रुपैयाँ थप शुल्क लाग्ने उपभोक्ता समितिका सचिव नेत्रप्रसाद निरौलाले बताउनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.