तीन दिनपछि काठमाडौंमा सिटामोल अभाव हुँदैनः अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले तीन दिनभित्रै काठमाडौंमा सिटामोल अभाव अन्त्य हुने दाबी गर्नुभएको छ ।

कोभिड १९ को तेस्रो भेरियन्टसँगै राजधानीमा सिटामोल अभाव चर्किएका बेला अध्यक्ष श्रेष्ठले तीन दिनभित्र अभाव नहुने बताउनुभयो । औषधि व्यवसायी संघको पहलमा आपूर्ति वृद्धि भइसकेको उहाँको भनाइ छ । ‘आजमात्रै तीन देखि चार चक्की थप आएको छ,’ उहाँले भन्नुभयो, ‘भोलिदेखि ५ देखि १० लाख सिटामोल र प्यारासिटामोल थप हुन्छ ।’

तीन दिनदेखि काठमाडौंमा सिटामोल पाइन छाडेको छ ।

कोभिड १९ को औषधि पत्ता नलागेको अवस्थामा हल्का ज्वरो र खोकी कम गर्न सिटामोल प्रयोग हुँदै आएको छ ।

श्रेष्ठका अनुसार औषधि व्यवस्था विभागमा बुधबार मात्रै उद्योगी, व्यवसायीसहित सरोकारवालाको बैठक बसेको थियो । नेपाल औषधि व्यवस्था लिमिटेडले उत्पादन गर्दै आएको सिटामोलको थप १० लाख चक्की दुई दिनभित्रै बजारमा आउने छ ।

सिटामोल र प्यारासिटामोल उत्पादन गर्ने स्वदेशी र विदेशी गरी ३७ वटा कम्पनीले आपूर्ति बढाउन थालेको श्रेष्ठले बताउनुभयो ।

आपूर्तिको तुलनामा माग बढेकाले अभाव हुनु स्वभाविक भएको बताउँदै अध्यक्ष श्रेष्ठले आवश्यकता भन्दा बढी स्टोर नगरिदिन अपिल पनि गर्नुभएको छ । ‘औषधिको निश्चित म्याद हुन्छ, समय आएपछि काम लाग्दैन,’ उहाँले भन्नुभयो, ‘आम उपभोक्ताले पनि चाहिने भन्दा बढी स्टोर नगरिदनु होला ।’

अध्यक्ष श्रेष्ठले भूकम्प र नाकाबन्दीका बेलामा जस्तै नेपाल औषधि व्यवसायी संघले सिटामोलसहितका औषधिमा कुनै कालोबजारी र अभाव हुन नदिने समेत प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.