गौतमबुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान, व्यावसायिक उडान जेठ २ गते सुरु हुने

रुपन्देही- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरणले जनाएको छ ।

उक्त प्रयोजनका लागि एरो थाईको जहाज नेपाल आइसकेको छ । थाइल्याण्डबाट हिजो दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस–एआइएम’ जहाज हिजै भैरहवा विमानस्थल पुगिसकेको प्राधिकरणका इञ्जीनियर मुलुक मिश्रले जानकारी दिनुभयो ।

क्यालिब्रेसन उडानपश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्डबमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरी रिपोर्ट आएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालनयोग्य हुने उहाँको भनाइ छ ।

परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ । क्यालिब्रेसन उडान आजदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । दैनिक सात घण्टाको उडान हुनेछ ।

उक्त अवधिमा विमानस्थलमा हाल सञ्चालन भइरहेको उडान केही डिले हुने प्राधिकरणले यसअघि नै वायुसेवा कम्पनीलाई अवगत गराइसकेको छ ।

बुद्ध पूर्णिमादेखि व्यावसायिक उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि भने व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ ।

आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुन लागेको उक्त विमानस्थलमा जेठ पहिलो सातादेखि व्यावसायिक उडान गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी गरिएको बताउनुभयो ।

काठमाडौँ विमानस्थलकै क्षमता भैरहवा विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने महानिर्देशक अधिकारीले बताउनुभयो ।

उहाँले देशमा ठूलो अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु हवाई पूर्वाधारको अर्को फड्को भएको र यो देशको आर्थिक विकासका लागि सामरिक महत्वको परियोजना भएको बताउनुभयो ।

कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन ।

काठमाडौँ विमानस्थलको विकल्पका रूपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि अहिलेको अवस्थामा करिब २० लाखमात्रै यात्रु धान्ने भएकाले दोस्रो टर्मिनल भवन चाँडो बनाउनुपर्ने बाध्यता रहेको प्राधिकरणको भनाइ छ ।

कोभिड–१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुने थियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको थियो । तर प्राधिकरणको निरन्तरताको ताकेताले विमानस्थल व्यावसायिक सञ्चालनमा आउन लागेको हो ।

देशकै नमूना आयोजना

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो ।

पछिल्लोपटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको हो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै सञ्चालन गरिने महानिर्देशक अधिकारीले बताउनुभयो ।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.