नेपाली काँग्रेस नवलपुर र चितवनको जिल्ला अधिवेशन आजदेखि

नवलपुर- नेपाली कांग्रेस नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन दर्ता र २१ गते मतदान गर्नेे गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

फागुन २१ गते हुने निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुईसचिव, दुई उपसचिव गरी पदाधिकारीको सात पदका लागि निर्वाचन हुने निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिनुभयो । त्यसैगरी जिल्ला सदस्यहरुमा एउटा नगरपालिकाबाट एक महिलासहित तीन सदस्यका दरले चार वटा नगरपालिकाबाट १२ सदस्य, एउटा गाउँपालिकाबाट एक महिलासहित दुईसदस्य गरी चार वटा गाउँपालिकाबाट आठ सदस्य निर्वाचित हुने उहाँले जानकारी दिनुभयोे ।

त्यस्तै खसआर्यबाट दुई महिला र दुई खुल्ला सदस्य, जनजातिबाट तीन महिला र तीन खुल्ला सदस्य गरी छ सदस्य दलित तथा थारुबाट एक–एक महिला र एक खुल्ला गरी दुई सदस्य,अल्पसङ्ख्यक वा अपाङ्गता भएका समुदायबाट एक सदस्यसहित कूल ४१ जनाको जिल्ला कार्यसमिति चयन हुने जनाइएको छ ।
एक हजार ९६१ जनाले जिल्ला अधिवेशनमा आफ्नो मत प्रयोग गर्नेछन् । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ताको कार्यक्रम नेपाली कांग्रेसको जिल्ला कार्यालयको बिपी स्मृति भवनमा र मतदान २१ गते शनिबार लुम्बिनी आदर्श कलेजमा हुने भएको छ ।

कांग्रेसको चितवन जिल्ला अधिवेशन

नेपाल कांग्रेस चितवनको जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ ।अधिवेशनअन्तर्गत हुने निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाका पक्षबाट बागमती
प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ तथा शेखर कोइरालाका पक्षबाट डा सूर्यकान्त घिमिरे, उत्तम जोशी, विजय भुषाल र राजेश्वर खनालले सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

यसैगरी कैलाश कोइरालाले साझा उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी भएको जिकिर गर्दै आउनुभएको छ । उहाँहरुबीच सहमति गराउन बुधबारदेखि नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी जुटिरहनु भएको छ । जिल्लाका नेता र उम्मेदवारलाई समूहगत र एकल भेट्दै आउनुभएका केसीले पहिलो चरणमा मिल्ने सम्भावना कम रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “पहिलो चरणमा साथीहरु मिल्ने देखिएन, दोस्रो चरणमा आफ्ना समूहका उम्मेदवारलाई सहयोग गर्ने वातावरण बनेको छ ।” आज मनोनयनसँगै शुक्रबार निर्वाचन हुँदैछ । पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत कुनै उम्मेदवारले ल्याउन नसकेमा दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.