मुख्यमन्त्री पाण्डेद्वारा डाँडापारीका तीन विद्यालय शिलान्यस

काभ्रे- बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले काभ्रेको विकट डाँडापारीमा अवस्थित महाभारत गाउँपालिकाका तीन विद्यालय भवन संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ । एशियाली विकास बैंक (एडीबी)को सहयोगमा निर्माण हुने तीन विद्यालयको सात भवनको विहीबार शिलान्यfस गर्नुभएको हो ।

महाभारत गाउँपालिकाको १ नंवर वडास्थित गोकूले माध्यमिक विद्यालयको रु पाँच करोड ९२ लाख ६५ हजारको लागतमा १८ कोठे दुई भवन, २ नंवर वडास्थित कालीदेवी माविको रु छ करोड ९६ लाख ६१ हजारको लागतमा १८ कोठे तीन भवन र ८ नंवर वडाको जनकल्याण माविको रु पाँच करोड ९४ लाख २८ हजारको लागतमा १८ कोठे दुई भवनको शिलान्यास भएको हो ।

विद्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री पाण्डेले विद्यालय भवन मात्र बन्नु ठूलो कुरा नभएको बताउनुहुँदै गुणस्तरीय शिक्षा दिन जरुरी रहेको बताउनुभयो । ‘स्कुल मात्र राम्रो भएर भएन, पढाइ त चौरमा पढाउन सकिन्छ तर पढाउने मान्छे चैँ राम्रो हुनुपर्छ । राम्रा विद्यालय भवन र कक्षाकोठाले पढाउने नभई शिक्षक असल र क्षमतावान् भए चौरमा पनि राम्रो शिक्षण हुने छ,’ उहाँले भन्नुभयो ।

मुख्यमन्त्री पाण्डेले गुण्स्तरीय भवन निर्माणका लागि ब्यवस्थापन समितिका पदाधिकारीलाई विद्यालय भवन निर्माण सम्पन्न नहुन्जेल ध्यान दिन आग्रह गर्नुभयो । उहाँले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विषयमा अझै गलत प्रचार भइरहनु राम्रो नभएको बताउनुहुँदै अमेरिकी सैन्य रणनीतिभित्र नपर्ने बताउनुभएको थियो । उहाँले स्थानीय तह बलियो बनाएमात्रै दीगो विकास लक्ष्य सरकारले पुरा गर्न सक्ने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले रोशी गाउँपालिकाको पिन्थलीदेखि महाभारतको घर्तीछापहुँदै मकवानपुर जोड्ने सडकका लागि प्रदेश सरकारबाट रु पचास करोड छुट्याउने निर्णय भएको जानकारी दिनुभयो ।

कार्यक्रममा बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले निर्वाचनमा गरिएको वाचाअनुसार जिल्लाको ‘अतिदूर्गम’ महाभारतमा सडक सञ्जाल बिस्तार गरिएको बताउँदै अब स्तरोन्नतीमा प्रदेश सरकार लागिपरेको उल्लेख गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का प्रदेश सचिव ईन्द्रबहादुर थिङले पूर्वाधार विकासले निरन्तरता पाइरहेको उल्लेख गर्दै देशमा राजनीतिक स्थिरता हुनेमा विश्वास ब्यक्त गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले विकासविरोधी क्रियाकलाप गर्नेलाई जनतालेनै ठिक पार्ने बताउँदै वर्षामा कच्ची सडकमा यातायातका साधान नचल्ने भएकाले सडक पक्की गर्न प्रदेश सरकारसँग माग गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का निर्देशक रामशरण सापकोटा, उपनिर्देशक युवराज पौडेल, महाभारत गाउँपालिका ८ का वडा अध्यक्ष टंकलाल थापामगर लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.