सुशासनको यात्रालाई अघि बढाउँछौँ : अध्यक्ष ओली

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशको सार्वभौमसत्ता, स्वाधीनता, संविधानको कार्यान्वयनसँगै विकास र सुशासनको यात्रालाई अघि बढाउने लक्ष्य लिएकाले यसका पक्षमा देशव्यापी लहर देखिएको बताउनुभएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू बिहीबार मात्रै कर्णालीको जुम्ला र कालिकोटमा पुग्दा विशालसभा र असाधारण उत्साह देखिएको जनाउँदै ‘समृद्धि नेपाल, सुखी नेपाली’ को यात्रा लेखक साहित्यकारहरू सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पद पाउनका लागि दौडनेभन्दा पनि सामूहिक भाव र समझदारीका साथ देश बनाउने बाटोमा लाग्न पनि आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले शैव दर्शन, योग दर्शन र बुद्ध दर्शनका साथै विविध सभ्यताको उद्गमस्थल नेपाल नै भए पनि गरिबी र पछ्यौटेपनका कारण त्यसलाई अगाडि बढाउन नसकिएकामा मुलुकमा विकास र समृद्धिको यात्रा आरम्भ भएसँगै अब इतिहास, संस्कृति र सभ्यताको संरक्षणको यात्रा आरम्भ हुने बताउनुभयो । एमालेको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले एमालेको समृद्धिको यात्रामा सारथी बन्न स्रष्टालाई आग्रह गर्नुभयो । महासङ्घका अध्यक्ष खगेन्द्र राईले महासङ्घसहित मातहतका सात घटकका पनि अधिवेशन भई नयाँ नेतृत्व चयन हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.