राष्ट्रपतिबाट हिसानको महाधिवेशन उद्घाटन

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्नुभएको छ ।

‘शिक्षा विकासमा सार्थक साझेदारी : हिसानको योगदान र जिम्मेवारी’ मूल नाराका साथ मुलुकभर सञ्चालित निजी शिक्षालयकोे राष्ट्रव्यापी सञ्जाल मानिने सो सङ्घको दुई दिवसीय महाधिवेशनको उद्घाटन राष्ट्रपति भण्डारीबाट भएको हो ।

समारोहमा राष्ट्रपति भण्डारीले हिसान स्मारिकाको विमोचन गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्दै उहाँले गुणस्तरीय, सर्वसुलभ र अनुसन्धानमुखी उच्चशिक्षाका लागि योगदान गर्न विद्यालय सञ्चालकलाई आग्रह गर्दै अधिवेशन सफलताको कामना व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले हिसानले समयसापेक्ष शिक्षाका लागि थप योगदान दिनुपर्नेमा जोड दिनुभयो ।

अधिवेशनका अवसरमा नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा हिसान शिक्षा बहसको कार्यक्रम पनि राखिएको अध्यक्ष रमेशकुमार सिलवालले जानकारी दिनुभयो । महाधिवेशनले नेपालभर सञ्चालित निजी शिक्षालयबीचको एकतालाई मजबुत तुल्याउन, निजी शिक्षालयको समस्या पहिचान गरी सामूहिक रुपमा समस्या समाधान गर्न, दबाब समूहका रुपमा कार्य गर्न, नीति निर्माणमा सकारात्मक भूमिका खेल्न तथा शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा महत्वपूर्ण योगदान दिनेछ ।

हाल सञ्चालनमा रहेका निजी लागानीबाट सञ्चालित मावि दुई तथा उच्च शिक्षालयको सङ्ख्या एक हजार ९७७ भन्दा बढी पुगिसकेको छ । हाल करिब पाँच लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् भने दुई लाखभन्दा बढी शिक्षक, प्राध्यापक एवं कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । आठौँ महाधिवेशनमा ३५ जिल्लाका ६०० शिक्षालयबाट प्रतिनिधि तथा ५० पर्यवेक्षकको उपस्थिति रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.