‘महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएका छन्’

काठमाडौं- राजनीतिज्ञ, अधिकारका क्षेत्रमा कार्यरत, व्यवसायी, शिक्षाका क्षेत्रमा कार्यरतलगायतले महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएको बताएका छन् ।

नारी म्यागजिनले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँहरुले सबै क्षेत्रमा महिलाको नेतृत्व स्थापित गर्न आवश्यक भएको बताउनुभयो । प्रथम महिला आरजु राणा देउवाले आफूले मिडिया, सेना, प्रहरी, इञ्जिनीयरिङलगायत सबै क्षेत्रमा महिलाको नेतृत्व हेर्न चाहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रपति, सभामुखलगायतका विभिन्न क्षेत्रमा महिला पुग्नुभएको छ, अरु क्षेत्रमा पनि महिला पुग्न आवश्यक छ ।” महिलाले राजनीतिमा गएपछि आफूले चाहेको परिवर्तन सम्भव हुने संविधानसभा सदस्य देउवाले बताउनुभयो । राजनीतिमा प्रत्यक्षरुपमा संलग्न हुँदा नै राज्यको कार्यक्रम र नीति बनाउन सकिने उहाँले बताउनुभयो । राजनीतिमा लाग्दा कतिपय कठिनाइ भए पनि परिवर्तन गर्न सकिने अवसर हुने उहाँको भनाइ छ ।

महिलाले दुःख पर्दा रुनसक्ने भए पनि पुरुषले नसकेको क्लिनिकल साइक्लोजिस्ट डा विजय ज्ञवलीले बताउनुभयो । उहाँका अनुसार उपचारका लागि आउने धेरै पुरुष रुने गरेका छन् र तिनलाई श्रीमती वा परिवारका अघि किन नरोएको भन्दा आफू कमजोर देखिन हुँदैन भन्ने मानसिकता पाइएको छ ।

अधिकारकर्मी सिर्जना सिंहले राजनीतिक परिवारमा छोरी वा बुहारीलाई अघि बढ्न सजिलो हुने बताउनुभयो । राजनीतिमा संलग्न सासू, ससुरा र श्रीमान्का कारण आफूले सधैँ सहयोग पाएको उहाँले बताउनुभयो ।

युनिग्लोब विद्यालयकी प्रधानाध्यापक भवानी राणाले बालबालिकाको पहिलो विद्यालय घर नै भएकाले आधारभूत कुरा घरमा नै सिकाउनुपर्ने बताउनुभयो । विद्यालयमा प्रधानाध्यापक र शिक्षक नै बालबालिकाका लागि ‘रोल मोडल’ बन्नसक्ने उहाँको भनाइ छ ।

व्यवसायी रितु वैद्यले विवाह र सन्तान जन्मिएपछि महिलाका जीवनमा धेरै चुनौती थपिने गरेको बताउनुभयो । परिवारले सहयोग गर्दा विवाहपछि पनि महिलाले करियर अघि बढाएर सफल बन्नसक्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.