सञ्चारसँग सम्बन्धित नीति तथा कानून समयसापेक्ष निर्माण तथा परिमार्जन हुँदैछ : मन्त्री कार्की

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना, सञ्चार तथा प्रविधिसँग सम्बन्धित नीति तथा कानून समयसापेक्ष निर्माण तथा परिमार्जन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७९ को अवसरमा सञ्चार मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विकास र विस्तारबाट समुन्नत राष्ट्र निर्माणको आधार गर्ने बाटोमा सरकार अगाडि बढिरेहको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आइसिटीको क्षेत्रमा भएको विकाससँगै बढेको चुनौतीको सामना गर्नसमेत सरकारले नीतिगत व्यवस्था गर्ने कार्य अगाडि बढाएको छ, आइसिटीलाई व्यवस्थित गर्नका लागि सरकारले नीतिगत, कानूनी र संरचनागत तथा प्रक्रिया निर्माण, परिमार्जन र सुधारका कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ ।”

डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई तीव्रताका साथ अगाडि बढाइएको बताउँदै मन्त्री कार्कीले विभिन्न निकायबाट प्रदान गरिएका सार्वजनिक सेवालाई नागरिक एप्समा आबद्ध गर्ने कार्य भइरहेको जानकारीसमेत दिनुभयो । व्यवस्थित तथा सुरक्षित साइबर स्पेसका लागि साइबर सुरक्षा नीतिको कार्य अगाडि बढाउनुका साथै साइबर सुरक्षा केन्द्र स्थापनाको कार्यलाई प्राथमिकतामा राखिएको र संवेदनशील पूर्वाधारलाई २४सै घण्टा निगरानी गर्ने गरी पूर्वाधार तथा जनशक्तिको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

मन्त्री कार्कीले सञ्चालनमा रहेका डाटा सेन्टरको पुनरावलोकन गर्नुका साथै डाटा सेन्टर स्थापना कार्य अगाडि बढाउँदै ब्रोडब्याण्ड सेवा विस्तारको कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको र मुलुकका सबै सामुदायिक माध्यमिक विद्यालय, स्वास्थ्य केन्द्र र स्थानीय तहमा ब्रोडब्याण्ड सेवा विस्तार गर्नुका साथै आधारभूत विद्यालयमा उच्च गतिको इन्टरनेट सेवा पु¥याउने कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो । एक हजार सामुदायिक, प्राथमिक र माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरी सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । मन्त्री कार्कीले भन्नुभयो, “आजको युग, सूचना तथा सञ्चार प्रविधिको युग हो, सञ्चार तथा सूचना प्रविधिको प्रयोग, विकास र विस्तारमा समग्र देशको विकासको परिकल्पना गर्न कठिन छ, सूचना तथा सञ्चार प्रविधि आजको आवश्यकता मात्रै नभएर अपरिहार्यता पनि हो ।”

मानवजीवनलाई सहज, सरल र समृद्ध बनाउनका लागि सूचना तथा सञ्चार प्रविधिले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले आइसिटीको प्रयोगको विकास र विस्तारले सार्वजनिक सेवा थप प्रभावकारी, विश्वसनीय, सुरक्षित, सरल, सहज र गुणस्तरीययुक्त भई सामाजिक तथा आर्थिक विकासको माध्यमबाट दिगो विकास र गरिबी न्यूनीकरणका लक्ष्य हासिल गरी समग्र देश विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

वर्तमान सरकारको विगतको अनुभव, विगतका नीति तथा समयसँगै बदलिएको सोचअनुरूप आइसिटीको क्षेत्रमा गुणात्मक विकास गरिने नीति लिइएको उहाँले बताउनुभयो ।

सरकारका मुख्य सचिव शङ्कर वैरागीले सूचना, सञ्चार प्रविधिको सदुपयोग भन्दा पनि दुरुपयोग बढी भइरहेको बताउँदै प्रविधिलाई सिर्जनात्मक कार्यमा प्रयोग गर्न आग्रह गर्नुभयो । सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को सपना पूरा गर्ने गरी आफ्ना क्रियाकलापलाई तीव्रता दिँदै आएको बताउनुभयो ।

सरकारले आइसिटी क्षेत्रमा विशेष योगदान पु¥याएवापत लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष इञ्जिनीयर पङ्कज जलानलाई ‘आइसिटी अवार्ड–२०७९’ प्रदान गरेको छ । त्यसैगरी रोजाकिरण बाशुकला (भक्तपुर), शिवजङ्ग चौलागाईं (सिन्धुली) लाई सोही अवार्ड प्रदान गरिएको छ । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी सोही अवार्ड ‘नेपाली सेवा सैनिक मुख्यालय’ र ‘इङ्ग्रील्स प्रालि’ ललितपुरलाई प्रदान गरिएको छ । त्यसैगरी रु ७० हजार राशिसहित विआइसी टेक्सोलोजी प्रालिलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.