लुम्बिनी प्रदेशसभाको दसौँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित

रुपन्देही- लुम्बिनी प्रदेशसभाको दसौँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित भएको छ । गत असोज २९ गते सकिएको नवौँ अधिवेशन छ महिनामा बोलाउनुपर्ने कानूनी प्रक्रिया पूरा गर्न हिजो मंगलबार बोलाइएका थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पहिलो सत्रमा अवरुद्ध गरी दोस्रो सत्रमा बहिष्कार गरेको १०औँ अधिवेशनको दोस्रो बैठक स्थानीय तहको निर्वाचन परिणाम आएपछि बस्नेछ । प्रदेशसभाका सदस्यहरु निर्वाचनमा व्यस्त रहने हुनाले निर्वाचन परिणामपछि बोलाइएको हो ।

प्रदेशसभाको दसौँ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभामा आफूहरूले राखेका माग सम्बोधन नभएको भन्दै माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने बताउनुभयो । उहाँले बोलेलगत्तै एमालेका प्रदेशसभा सदस्यहरूले बेल घेराउ गर्दै नाराबाजी गरेपछि पहिलो सत्रको बैठक स्थगित भएको थियो ।

एमालेले नाराबाजी जारी राखेपछि सभामुख पूर्णबहादुर घर्तीले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गर्नुभयो । दोस्रो सत्रको बैठकमा पनि एमालेका सदस्यहरुले बहिष्कार गरेका थिए । त्यस अवसरमा बोल्ने प्रदेशसभाका सदस्यहरुले बैठक अवरुद्ध नगर्ने वातावरण मिलाउन सभामुखसँग आग्रह गरेका थिए ।

अधिवेशनको सुरुआतमा दलका तर्फबाट शुभकामना दिँदै नेपाली कांग्रेस सचेतक निर्मला क्षेत्रीले एमालेलाई बजेट ल्याउने बेला भएकाले विरोधको सट्टा सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तुलाराम घर्तीमगरले एमालेले प्रतिपक्षीको भूमिका खेल्नुको साटो हुँदै नहुने बखेडा झिकेर प्रदेशसभालाई बन्धक बनाएको आरोप लगाउनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) का सदस्य निर्मला मुडभरीले महिला हिंसाका घटना बढिरहेकाले नियन्त्रणका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय जनमोर्चाका तारा जिसीले प्रदेश सरकारले आफ्नो औचित्य कायम गर्न नसकेको बताउनुभयो ।

प्रदेशसभामा प्रदेश खेलकुद विकास परिषद्सम्बन्धी अध्यादेश, २०७८ पेस भएको छ ।

सो बैठकमा सभामुख घर्तीले प्रदेशसभा सदस्य दीपेश थारूले बुझाएको राजीनामा पत्र पढेर सुनाउनुभएको थियो । थारूले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट बर्दियाको राजापुर नगरपालिकामा प्रमुखका पदमा उम्मेदवारी दिनुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.