नेपाल-इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६२औँ वार्षिकोत्सव

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन नेपाल र इजरायबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६२औँ वार्षिकोत्सवका अवसरमा हिजो यहाँ आयोजित विशेष समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले आयोजना गर्नुभएको उक्त समारोहमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालको सामाजिक-आर्थिक विकासका साथै कृषि क्षेत्रको विकासका निम्ति इजरायलले गरेको सहयोगको सराहना गर्नुभयो ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले पारस्परिक सद्भाव, सहयोग र समझदारीले नेपाल र इजरायलबीचको सम्बन्धलाई सुदृढ तुल्याएको बताउँदै विश्व शान्ति र साना देशको सुरक्षा वर्तमान विश्वका निम्ति अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो । रुस र युक्रेनबीचको द्वन्द्वप्रति लक्ष्य गर्दै उहाँले त्यसो भन्नुभएको हो ।

त्यस अवसरमा इजरालका विदेशमन्त्री यायिड लपिडले द्विपक्षीय सम्बन्ध स्थापना भएको ६२औँ वार्षिकोत्सवका अवसरमा जारी गर्नुभएको भिडियो सन्देशमा नेपालसँगको साझेदारीलाई इजरायलले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

परराष्ट्र सचिव भरतराज पौड्यालले कूटनीति र संवादको माध्यमबाट पश्चिम एशियामा दिगो शान्ति कायम हुनुपर्ने तथा द्वन्द्वको शान्तिपूर्ण समाधान खोजिनुपर्ने नेपालको अभिमत रहेको स्पष्ट गर्दै भूकम्प र कोरोना महामारीका बेला नेपाललाई तत्काल आपत्कालीन सहयोग गरेकामा सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो ।

राजदूत गोडेरले कठिन परिस्थितिमा नेपालले इजरायललाई कूटनीतिक मान्यता दिएकामा आभार व्यक्त गर्दै इजरायलले नेपाललाई कहिल्यै नबिर्सने बताउनुभयो । उहाँले नेपालको विकास प्रयासमा आफ्नो देशले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

समारोहमा कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, इजरायलका मित्र, उद्योगपति, व्यापारी, समाजसेवी, कलाकार, साहित्यकार र वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

इजरायलले नेपाललाई विभिन्न विषयमा विशेषगरी कृषि, शिक्षा, ग्रामीण विकास, जलस्रोत, पर्यटनलगायत क्षेत्रमा अल्पकालीन छात्रवृत्ति प्रदान गर्दै आएको छ भने कृषि व्यवस्थापन, कृत्रिम गर्भाधान, सिँचाइ, बाल्यकालीन शिक्षालगायत क्षेत्रमा निरन्तर सहयोग गरिरहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.