स्थानीय तह निर्वाचन : छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

काठमाडौँ, ३० वैशाख (रासस) : स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ । कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्काे दिनका लागि मिति तय गरिएको छ । केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः मतदान सञ्चालन गरिएको थियो ।

यद्यपि समग्रमा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको नेपाल प्रहरीको निष्कर्ष छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले विभिन्न जिल्लामा छिटफुट घटना देखिए पनि निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार अपराह्न पाँच बजेसम्म प्रहरी प्रधान कार्यालयमा प्राप्त विवरणअनुसार आज ३० भन्दा बढी जिल्लामा ११० घटना भएको छ । उहाँका अनुसार अझै पूर्ण विवरण आउन भने बाँकी छ ।

प्राप्त विवरणअनुसार विवादका कारण अवरुद्ध भएका ४० वटा मतदानस्थलमा पुनःमतदान गरिएको थियो । उहाँले काभ्रे, सप्तरी, सर्लाहीलगायतका केही मनदानस्थलमा मतदान स्थगित भएको जानकारी आएको बताउनुभयो । केही जिल्लामा वर्षासमेतले मतदान प्रभावित बनाएको थियो ।

केसीले विभिन्न ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताउनुभयो । हुम्लाको एक ठाउँमा भने अश्रुग्यास नै प्रहार भएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन भएको हो । आज बालिग मतदाताले आप्mनो मताधिकार प्रयोग गरेका छन् ।

निर्वाचनकै इतिहासमा पहिलो पटक मतदाताका रूपमा नाम दर्ता भई मतदानको दिनभन्दा अघिल्लो दिन १८ वर्ष उमेर पूरा गरेका मतदाताले समेत मतदान गर्न पाएको दिन हो आज । प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो । कानूनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने, मतदान गर्ने अवसर र अधिकार निर्वाचनले प्रदान गर्छ । निर्वाचन आयोगले सुरक्षित तवरबाट मतपेटिकाको ढुवानीको आवश्यक प्रबन्ध मिलाएको र सबै मतपेटिका सङ्कलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

स्थानीय तहको निर्वाचन पहिलोपटक एकै चरणमा गरिएको हो । नेपालमा संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ मा तीन चरणमा निर्वाचन भएको थियो । त्यो बेला वैशाख ३१, असार १४ र असोज २ मा निर्वाचन सम्पन्न भएको थियो । त्यसअघि विसं २०५४ मा स्थानीय तहको निर्वाचन जेठ ४ र १३ गते गरिएको थियो ।

अहिले एकैपटक देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ०७ बजेदेखि मतदान प्रारम्भ भएको थियो । यसपटक ७५३ स्थानीय तहका कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् । यसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक÷एक अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्षलगायत पदमा जनप्रतिनिधि निर्वाचित हुने छन् ।

स्थानीय तह सदस्य निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् ।

कूल एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा रहनुभयो । त्यसमध्य ३९० जना यसअघि नै निर्विरोध भइसक्नुभएको छ । निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता भएका थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराएका थिए । निर्वाचनमा एक लाख नौ हजार ८८ कर्मचारी खटिइएका छन् । ६५ हजार ८६५ स्वयंसेवक र पाँच हजार पर्यवेक्षक तथा दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालित थिए ।

नेपालको संविधान २०७२ को अनुसूचीमा स्थानीय तहलाई महत्वपूर्ण अधिकार दिइएको छ । त्यही अधिकार प्राप्त भएका कारण गाउँठाउँको विकासका लागि सङ्घको मुख ताकिरहनु पर्दैन । त्यसैले पनि २०७२ अघिको स्थानीय निकायको तुलनामा अहिलेको स्थानीय तहको जिम्मेवारी ठूलो छ । गाउँको विकासमा स्थानीय तहले आफैँ निर्णय गरेर कार्यान्वयन गर्न सक्नेछ । स्थानीय तह आफैँमा सरकार र संसद् पनि हो ।

परिचित जनप्रतिनिधि हुने भएकाले पनि समुदायले निर्धक्कसँग कुरा राख्न सक्ने हुँदा पनि नागरिक निर्वाचनमा विभिन्न समस्याका बाबजुद सहभागी भएका थिए । कोही लौरे टोकेर त कोही बच्चा काखी च्यापेर मतदानमा सहभागी थिए । कसैले ह्वील चेयरमा बसेर पनि मत खसाले भने पाका उमेरकाले पनि मताधिकार प्रयोग गरेका दृश्य देखिएको थियो ।

आज मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिए पनि पाँच बजे मतदानस्थलभित्र प्रवेश गरेकाले मत खसाल्न पाउने हुँदा केही ठाउँमा मतदान अन्तिम चरणमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.