मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी

मकवानपुर- स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार तथा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ईन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । पुडासैनीले तीन हजार ७२२ मत र लामाले तीन हजार ७२५ मत प्राप्त गर्नुभएको थियो भने प्रमुखमा कांग्रेसका विश्व लामाले तीन हजार ४७२ मत प्राप्त गर्नुभएको थियो ।

यस गाउँपालिकाको पाँच वडामध्ये कांग्रेस तीन वडामा विजयी भएको छ भने एमालेले दुईवटा वडामा मात्र जित हात पार्न सफल भयो ।

त्यस्तै जिल्लाको भीमफेदी गाउँपालिका प्रमुखमा एमालेका हिदम लामा विजयी हुनुभएको छ । आज बिहान सकिएको मतगणना अनुसार लामाले नेकपा (माओवादी केन्द्र)का बद्रीबहादुर स्याङ्तानलाई पराजित गर्नुभएको हो । लामाले पाँच हजार ५९१ मत प्राप्त गर्दै विजयी हुनुभयो भने माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा नेकपा(एमाले) की पार्वती रानालाई पराजित गर्दै नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले यसअघिकी उपाध्यक्ष रानालाई जम्मा १६ मतान्तरले पराजित गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.